गढी गाउँपालिकाबाट कर छलेर आएको आरोपमा हेटौंडा उपमहानगरपालिकाले तीनवटा टिपर नियन्त्रणमा लिएको छ ।
खानी रोयल्टी वा स्थानीय तहलाई बुझाउनुपर्ने राजस्व नबुझाएका कारण मंगलबार विहान हेटौंडा उपमहानगरपालिकाले तीनवटा टिपर नियन्त्रणमा लिएको हो । उपमहानगरले बा. प्र०३००१ ख १०८०, बा.प्र ०३००२ ख १०४१ र बा.प्र ०३००१ ख १०३८ नम्बरको टिपर नियन्त्रणमा लिएको हो ।
हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् राजस्व परामर्श समितिका सदस्य सविन न्यौपानेका अनुसार गढी गाउँपालिकाबाट ढुंगा उत्खनन् गरी ल्याइएको पुष्टि भएपनि स्थानीय कर वा खानीको रोयल्टी तिरेको कुनै पनि प्रमाण नभएका कारण टिपर नियन्त्रणमा लिइएको हो ।
‘हामीले राज्यलाई राजस्व बुझाएको प्रमाण मागेका छौं । तर, उपलब्ध भएको छैन । राजस्व तिरेको प्रमाणित नभएको खण्डमा नियमानुसार जरिवाना गरी टिपर छाड्ने छौं ।’, प्रवक्ता न्यौपानेले नदिजन्य पदार्थमा राजस्व चुहावट भएको भन्ने जनगुनासो धेरै आएपछि त्यसको नियन्त्रण गर्ने काम उपमहानगरले गरिरहेको बताए ।
गढी गाउँपालिकामा ढुंगा, गिट्टी, बालुवाको कर संकलनको जिम्मेवारी प्राप्त गरेको सगरमाथा–अमित जेभी प्रालिले उपमहानगरले नियन्त्रणमा लिएको टिपरलाई तीनदिन अगाडि नै प्रहरीको जिम्मा लगाएको थियो । गढीबाट उत्खनन् गरिएको ढुंगा लिएर विनाकागजपत्र हेटौंडातर्फ आइरहेको समयमा कर संकलन टोलीले आइतबार टिपर नियन्त्रणमा लिएको थियो । उक्त सवारी कर संकलन टोलीले प्रहरीको जिम्मा लगाएपनि कुनैपनि कारबाहीविना छोडेसँगै हेटौंडा उपमहानगरले नियन्त्रणमा लिएको हो ।
‘खानी रोयल्टी नतिरेको भएपछि हामीले टिपर नियन्त्रणमा लिएका थियौं । तर, स्थानीय कर तिर्न नमानेपछि प्रहरीको जिम्मा लगाएका हौं ।’, सगरमाथा–अमित जेभीका राज मैनाली (दिनेश) ले तीनदिन अगाडि प्रहरीको जिम्मा लगाएको टिपर कुनै कारबाहीविनै हेटौंडामा पक्राउ पर्नु अच्चम भएको बताए । उनले खानी तथा भूगर्भ विभागको नियमअनुसार खनिज परिणामको नाप जाँच नहुनु र कर नतिरी ढुंगा ओसारपसार गर्दा राज्यलाई तिर्नुपर्ने करोडौंको राजस्व गुमेको आंशका व्यक्त गरे ।
गाउँपालिकाका प्रशासकीय अधिकृत सुधन लामिछानेका अनुसार टिपर समातेको विषयमा आफूहरु जानकार रहेको बताए । ‘टिपर समातेको विषय हामीलाई जानकारीमा आएको थियो । कागजपत्रको विषय स्पष्ट भएपछि हामीले छाडेका हौं । नदीजन्य पदार्थ भएको भए हामी जवाफदेही हुन्थ्यौं । यो खानीसँग सम्बन्धित भएका कारण खानी विभागलाई जानकारी गराएका छौं । केहीदिनमा विभागबाट टोली आउने कुरा भएको छ, अनुगमनका लागि । अनि यस विषय टुंगिन्छ ।’, उनले खानी विभागले टिपरको कागजपत्र ठिक भनेपछि छोडिएको दावी गरे ।