हेटौंडा अस्पतालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान कार्यकारी परिषद्का पदाधिकारी र सदस्यसहित कृषि विकास बैंकको हेटौंडा शाखा प्रमुखको मिलेमतोमा आर्थिक अपचलन भएको तथ्य बाहिरिएको छ ।
अस्पतालले प्रतिष्ठानका पदाधिकारी, करारका कर्मचारी तथा वैंकको प्रमुखलाई कारबाही माग गर्दै माथिल्लो निकायमा पत्राचार समेत गरेको छ ।
वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको २०८० फागुन ३० गते निमित्त प्रमुखका रुपमा अस्पतालमा सरुवा भएका वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. श्रीधर अर्यालले प्रदेश स्वास्थ्य मन्त्रालयलाई लेखेमा आफुलाई आर्थिक तथा प्रशासनिक अधिकार दिइ जिम्मेवारी तोकिए पनि प्रतिष्ठानका करारका डाइरेक्टर डा. धीरेन्द्र गिरिले प्रतिष्ठानको कार्यकारी परिषद्बाट गैरकानुनीढंगले निणर्य गराइ आर्थिक अपचल भएको जनाएका छन् ।
उनले प्रदेश लेखा उत्तरदायी अधिकारीको अख्तियारीबिना कृषि विकास बैंकका शाखा प्रमुखसँग साँठगाँठ गरी आर्थिक अपचलन गरेको आरोप लगाएर पत्र काटेका हुन् ।
प्रतिष्ठानका करारका लेखा अधिकृत सुरज बिष्टसँगको संयुक्त दस्तखत प्रयोग गरी गिरिले व्यवस्थापन समितिको कोष (सरकारी कोष) प्रयोग गरेर सरकारी खाताको आर्थिक अपचलन गरिरहेको पत्रमा आरोप छ ।
स्वास्थ्य मन्त्रालयको २०८० चैत ७ को पत्र तथा सोही मन्त्रालयको २०८१ जेठ १८ को पत्रबमोजिम ‘अस्पताल कार्यालय प्रमुख डा. श्रीधर अर्याल तथा अर्थिक प्रशासन प्रमुख राजेश थापाको संयुक्त दस्तखतबाट अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको खाता सञ्चालन गर्नू’ भनी निर्देशनात्मक पत्र प्राप्त भएको थियो ।
सोहीबमोजिम प्रशासनिक तथा आर्थिक क्रियाकलाप भइरहेकोमा गत जेठ २२ देखि व्यक्तिसरहको स्वायत्त संस्था मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका करारका डाइरेक्टर डा. गिरिले आफूलाई सरकारी संयन्त्रको अस्पतालको निर्देशक तथा कार्यालय प्रमुख हुँ, स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई चिन्दिन’ र सरकारी ऐननियम मान्दिन’ भन्दै अस्पतालमा जबर्जस्ती बस्ने, प्रदेश लेखा उत्तरदायी अधिकारीको कुनै किसिमको अख्तियारी प्राप्त नभइ कृषि विकास बैंकका शाखा प्रमुखसँग साँठगाँठ गरी प्रतिष्ठानका करारका लेखा अधिकृत सुरज बिष्टसँगको संयुक्त दस्तखत प्रयोग गरी व्यवस्थापन समितिको कोष (सरकारी कोष) प्रयोग गरेर सरकारी खाताको आर्थिक अपचलन गरिरहेको आरोप छ ।
आफूखुशी म निर्देशक र कार्यालय प्रमुख हुँ भन्दै अस्पतालका कर्मचारीलाई जागिरको त्रास देखाउँदै धम्काइ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लेटरप्याड प्रयोग गरी निर्देशन दिने, स्पष्टीकरण माग्ने, जबर्जस्ती गैरकानुनीरुपमा हेटौंडा अस्पतालको चलानी किताब प्रयोग गर्ने, अस्पतालमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अख्तियारीप्राप्त भइ खटिएका अस्पताल प्रमुखलाई समेत पत्र काटी स्पष्टीकरण सोध्ने जस्ता अराजक, अनैतिक, गैरकानुनी, नपाएको अधिकार पाएको भनी धम्क्याउने, त्रास देखाउने गरेकाले कानुनी राज्यको उपहास गर्ने, सरकारी ऐनकानुनलाई ठाडो चुनौती दिने करारका निर्देशक डा. गिरि र करारका लेखा अधिकृत बिष्टलाई छानबिन गरी कारबाही माग गरिएको छ ।
एउटा स्वायत्त निकायबाट सरकारी कार्यालयको अराजक, अनैतिक, गैरकानुनी अतिक्रमण देखिएकाले कानुनी राज्य र सरकारी स्वास्थ्य प्रणालीलाई कायम राख्न अस्पतालका सम्पूर्ण कर्मचारीको बैठकले आवश्यक सहजीकरणका लागि मागहरु राखेका छन् । कानुनी राज्य र सरकारी स्वास्थ्य प्रणालीलाई कायम राख्न अस्पतालका सम्पूर्ण कर्मचारीले बैठकबाट आवश्यक सहजीकरणका लागि राखिएका माग संलग्न गरी पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आइतबार लेखिएको उक्त पत्र डा. अर्यालले स्वास्थ्य मन्त्रालय वागमती प्रदेश, प्रमुख जिल्ला अधिकारी, कुलपति, सहकुलपति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौं, राष्ट्रिय सतर्कता केन्द्र काठमाडौं, उच्च सरकारी वकिल कार्यालय हेटांैडा, जिल्ला अदालत, प्रदेश लेखा नियन्त्रक कार्यालय, कृषि विकास बैंकको मुख्य कार्यालय, काठमाडौं र चिकित्सक संघ नेपालमा पनि पठाएका छन् ।