२०७९ आश्विन १८, मंगलबार    

क्वाँटी खाने प्रचलन र यसले स्वास्थ्यमा पार्ने प्रभाव

२०७९ श्रावण २७, शुक्रबार ०८:५२ बजे

नेपाली समाजमा विभिन्न संस्कृति मान्ने क्रममा जनै पूर्णिमाको दिन मुख्य रूपमा क्वाँटी खाने प्रचलन रहिआएको छ । यसको प्रचलन कहिलेदेखि सुरु भएको हो भन्न सकिँदैन, तैपनि यो विशेष गरी नेवार समुदायबाट आएको र हाल नेपालका अधिकांश स्थानमा सबै जनजातिले क्वाँटी र यसको झोल खाने प्रचलन छ । नेवारी भाषामा क्वाँ भनेको तातो र टी भनेको सुप हो । त्यसैले, क्वाँटी भनेको विभिन्न गेडागुडीको मिश्रणबाट पकाएर बनाएको तातो सुप बुझिन्छ ।

क्वाँटीमा खास गरी नौ किसिमका गेडागुडीको सम्मिश्रण पाइन्छ । नेपाली समुदायमा खेतबारीमा काम गर्ने समय, मौसम परिवर्तन हुने समय र जाडो यामको सुरुवात हुने समय आउनै लाग्दा जनैपूर्णिमा पर्व पर्छ । र, त्यतिबेला विभिन्न गेडागुडीको रस खाने प्रचलनका पछाडि विभिन्न सत्य र वैज्ञानिक कारण लुकेका छन् । 

 

शरीरलाई बलियो बनाउन, कमजोर शारीरिक क्षमता भएको अवस्थामा, रुघाखोकी जस्ता रोग लाग्नबाट बचाउन वा शरीरको रोगविरुद्ध लड्ने क्षमता बढाउन जानेर वा नजानेरै क्वाँटी जस्ता विभिन्न पौष्टिक तत्त्व खाने गरिन्छ । यसमा पाइने विभिन्न पौष्टिक पदार्थले व्यक्तिको रोग प्रतिरोध क्षमता बढ्छ र रोग लाग्नबाट बचाउन सक्छ, जुन वैज्ञानिक अवधारणा पनि हो । त्यसैले, क्वाँटीको खानु सांस्कृतिक मूल्यमान्यताबाट मात्र प्रभावित भएर होइन कि यसका विभिन्न फाइदा पनि छ ।

क्वाँटी बनाउने क्रममा यसबाट बढी फाइदा पाउन ३ देखि ४ दिनसम्म पानीमा भिजाएर राख्न, जबसम्म यसमा टुसा पलाउँदैन । त्यसपछि यसलाई राम्रोसँग प्रेसर कुकरमा पकाउनुपर्छ र बेसार, खुर्सानीको धुलो, नुन, तोरी र आलसका दाना, टमाटर, प्याज, लसुन र अदुवाको पेस्ट तथा विभिन्न मरमसलाको प्रयोग गरी पुनः पानी थपेर पकाएर स्वादिष्ट बनाई बाक्लो सुपको रूपमा खान सकिन्छ । 

क्वाँटी नौ वटा गेडागुडी एकै ठाउँमा मिलाई पकाएर खाने गरिन्छ । ती प्रत्येक गेडागुडी तथा तिनको फाइदा यसप्रकार छः

१. राजमा (रातो मिर्गौला जस्तो गेडागुडी)  

मिर्गौलाको आकारजस्तै देखिने राजमा विभिन्न पौष्टिक तत्त्वले भरिएको छ । यसको मुख्य फाइदा यसले मुटुका रक्तनलीमा जम्ने बोसोको तहलाई कम गराउँछ वा खराब कोलेस्टेरोल नियन्त्रण गर्छ । 

साथै, मष्तिस्कको कार्यक्षमता बढाउने, मुटुको समग्र स्वास्थ्य राम्रो राख्ने भएकोले सुगर रोगीलाई पनि फाइदा गर्छ । यसमा पाइने प्रोटिनका कारण यो बढी स्वास्थ्यबद्र्धक हुन्छ । त्यस्तै यसमा प्रशस्त फाइबर पाइने हुँदा पेटका समस्या र अपच हुने समस्या पनि निराकरण हुन्छ । यसमा ईनर्जी, प्रोटिन, नगन्य चिल्लो, कार्बोहाइड्रेट, सुगर, क्याल्सियम, पोटासियम र सोडियम जस्ता तत्त्व पाइन्छ ।

२. बोडी (कालो आँखा जस्तो गेडागुडी) 

बोडी प्रजातिको गेडागुडीलाई प्रोटिनको पावरहाउस पनि भनिन्छ । बोडी खानाले मुटुका रोग नियन्त्रण, सुगर तथा रक्तचाप नियन्त्रण, रक्तअल्पताको उपचार, तौल कम गराउन सहयोग र प्यांक्रियाजमा हुन सक्ने क्यान्सरको समेत रोकथाम गर्दछ । यसमा उच्च मात्रामा प्रोटिनलगायत अन्य विभिन्न पौष्टिक तत्त्व पाइन्छ ।

३. चना (चिकपिज)  

अरु गेडागुडीजस्तै चना पनि प्रोटिनलगायत विभिन्न पौष्टिक तत्त्वको भण्डार हो । यसको सेवनले तौल कम हुने, रक्तचाप सन्तुलनमा आउने, हर्मोनहरूको उत्पादन सन्तुलित हुने र मधुमेहका रोगीलाई समेत लाभदायक हुन्छ ।

४. भटमास (सोयाबिन) 

भटमास पनि प्रोटिन, फाईबर तथा विभिन्न पौष्टिक तत्त्वको भण्डार र सुपर फुड नै हो । यसको सेवनले पनि कोलेस्टेरोल नियन्त्रित हुने गर्छ । यसमा हानिकारक चिल्लो कम हुने, एन्टिअक्सिडेण्ट् तथा ओमेगा ३ फ्याटी एसिड प्रशस्त पाइन्छ ।

५. मुङ्ग (मुङ्गको दाना) 

यो पोटासियम, म्याग्नेसियम र फाईबर प्रशस्त पाइने गेडागुडी हो । यसको सेवनले मुटुका रोगहरू, रक्तचाप र कोलेस्टेरोल नियन्त्रण गर्दछ ।

६. मास (कालो ग्राम दाना) 

मासमा पनि अन्य गेडागुडीमा जस्तै प्रशस्तै विभिन्न पौष्टिक तत्त्व पाइन्छ । यसको सेवनले पाचन प्रणाली, हाडजोर्नी, प्रजनन् प्रणाली, मुटु र मिर्गौलाको कार्यक्षमता बढाउँछ । कलेजोलाई सक्षम बनाउन, उच्च रक्तचाप कम गर्न, रगतमा सुगरको मात्रा घटाउन र स्नायु प्रणालीको क्षमता बढाउनसमेत यसको सेवन गर्न सकिन्छ । साथै यो पेट दुखाई,  पाईल्स्, कब्जियतजस्ता रोगको उपचारमा पनि प्रयोग गर्न सकिन्छ ।

७. बकुल्ला 

बकुल्ला हाडजोर्नीको स्वास्थ्य र प्रतिरोध क्षमता अभिवृद्धि गर्न फाइदाजनक गेडागुडी हो । यसका साथै यसको सेवनले स्नायुको कार्यक्षमता बढाई पार्किन्सन्स् रोगमा फाइदा पुर्याउँछ भने रक्तअल्पता कम गर्ने, तौल कम गर्ने, रक्तचाप व्यवस्थित गर्ने र कोलेस्टेरोल कम गर्ने जस्ता काम पनि गर्छ ।

८. केराउ 

केराउको सेवनले पाचन प्रणालीको कार्यलाई सुधार गर्ने, मेटाबोलिज्म् बढाउने, मुटुको स्वास्थ्यलाई राम्रो बनाउने र सुगरको मात्रा समेत नियन्त्रण गर्ने काम गर्छ ।

९. सेतो सीमी/गेडागुडी 

यो स्वास्थ्यकर शारीरिक तौल बनाउन, मांसपेशी बलियो बनाउन र पाचन प्रणाली राम्रो बनाउन लाभदायक छ ।

जे होस् क्वाँटी स्वास्थ्यका लागि लाभदायक हुन्छ तर यसलाई केवल जनैपूर्णिमाको दिनमा मात्रै खाने प्रचलन बसालेर मात्र कुनै अर्थ छैन । हाम्रा दैनिक खानामा कुनै न कुनै गेडागुडी अनिवार्य रूपमा हुनैपर्छ । अनि मात्र त्यस्तो खानाले फाइदा गर्छ । सके टुसा उमारेका विभिन्न गेडागुडी सधैँ खाने, नसके कम्तीमा पनि एउटा गेडागुडीजन्य आइटम प्रत्येक दिन खानु लाभदायक हुन्छ । 

त्यसो त हाम्रो शरीरलाई सन्तुलित खानाको रूपमा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज र पानी प्रत्येक खानामा समावेश गर्नुपर्छ । यति छ प्रकारका खाना मिलाएर दैनिक खान सकियो भने त्यो सन्तुलित खाना हुन्छ । यस्तो खाना खानाले हामीलाई दिनभर चाहिने क्यालोरी वा शक्ति प्राप्त हुन्छ । शारीरिक वृद्धि विकास वा शरीरका कोष–तन्तुको नियमित मर्मत सम्भार हुन्छ । शरीरमा रोग विरुद्ध लड्ने क्षमता प्राप्त हुन्छ । हामी शक्तिका साथ दिनभर आफ्नो काममा लाग्न सक्छौँ र स्फूर्ति आउँछ । 

यदि सन्तुलित खाना खान सकिएन भने हाम्रो शरीरमा कुनै न कुनै पौष्टिक तत्त्वको अभावमा शरीरमा सञ्चित कुनै न कुनै तत्त्व खर्च हुने अवस्था आउँछ । र, लामो समयसम्म त्यस्ता तत्त्वको शरीरमा अभाव भएमा सञ्चित तत्त्व पनि सकिन्छ । त्यो तत्त्वले गर्ने काममा कमी आउने हुँदा शारीरिक तथा मानसिक सक्रियता आउँदैन । फलस्वरूप विभिन्न किसिमका बिरामी पर्ने सम्भावना पनि हुन्छ । 

त्यसैले दिनहुँ खानामा माथि उल्लेख गरिएका छ किसिमका पौष्टिक तत्त्वहरू समावेश गर्नैपर्छ । बालबालिकाहरूको हकमा भने यसरी खाइने खाना बच्चालाई मन नपर्न सक्छ । किनकि उनीहरूको जिब्रोमा वयस्क मानिसको तुलनामा कैयौँ गुणा स्वाद थाहा दिने ग्रन्थि हुन्छन् र वयस्कलाई मनपर्ने खाना बच्चालाई मन नपर्न सक्छ । त्यसकारण बच्चालाई सन्तुलित खाना दिँदा बच्चाको स्वादअनुसार उसले रुचाउने खाना दिनुपर्छ । 

प्रायः बच्चाहरूले सागपात, गेडागुडी, चिल्लो, पिरो खान रुचाउँदैनन् र खाँदैनन् । यस्तो अवस्थामा सागपातलाई मिक्स्चरमा घोलेर झोलिलो बनाइ लिटो वा जाउलो पकाउँदा त्यसमै मिसाएर खुवाउन सकिन्छ । कुनै बच्चाले नुनिलो र कुनैले गुलियो मन पराउँछन्, उनीहरूको स्वादअनुसार खाना दिन सकिन्छ । गेडागुडी खुवाउँदा उसिनेर नरम बनाएको गेडागुडीमा विभिन्न स्वाद मिसाइ खुवाउन सकिन्छ वा फ्राई गरेर मीठो बनाएर पनि खुवाउन सकिन्छ । नभए बच्चाको उमेरअनुसार गेडागुडीको सुप बनाएर दिनु उपयुक्त हुन्छ । यसरी बच्चालाई समेत सन्तुलित आहार खुवाउन सकिन्छ ।

गेडागुडीमा अधिक मात्रामा प्रोटिन पाइने र प्रोटिन पचाउन हाम्रो आमाशयलाई निकै सकस पर्ने वा लामो समय पनि लाग्न सक्ने हुँदा कसैलाई गेडागुडीको सेवन गर्दा पेटमा अपच हुने, वायु चल्ने, पेट ढुस्स हुने, पेट दुख्ने, पखाला लाग्ने वा बान्ता पनि हुन सक्छ । त्यसैले गेडागुडीको सेवन गर्दा धेरै नखाई ठिक्क मात्रामा खाने र पचाउन समस्या पर्नेले बेलुकाको खानामा यस्तो खाना खानु हुँदैन । 

गेडागुडी पचाउन नसक्ने वर्गमा बच्चा र प्रौढावस्थाका व्यक्तिहरू पर्दछन् । कुनै कुनै वयस्कहरूले पनि पचाउन सक्दैनन् । यस्तो अवस्थामा आफ्नो शरीर र पेटको अवस्था हेरेर बिरामी नपर्ने गरी मात्रा मिलाएर खाने बानी बसाल्नुपर्छ । यदि नियमित रूपमा यस्ता खाना खानाले सामान्य समस्या हुने व्यक्तिलाई पनि बिस्तारै निको हुन थाल्छ वा पचाउन थाल्छ । 

अन्तमा, क्वाँटी खाने प्रचलन निकै राम्रो हो । तर, यसलाई जनै पूर्णिमाको दिनमा मात्र एकदिन खाने होइन कि दिनहुँ खाने गर्नुपर्छ  । यसको सेवन गर्दा आफ्नो स्वास्थ्यको अवस्था ख्याल गरेर मात्र खानुपर्छ, एकै पटक धेरै खानु हुँदैन । आजको जनैपूर्णिमाको पर्वको अवसरमा क्वाँटी खाने प्रचलनलाई निरन्तरता दिँदै दिनहुँ खाने बानीमा सुधार गरेर खाऊँ भन्ने सन्देश दिन चाहन्छु ।      (रातोपाटीबाट)

मध्यविन्दु बहुमुखी क्याम्पस, कावासोतीमा प्राध्यापनरत लेखक सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक पनि हुन्