२०८१ बैशाख ६, बिहीबार    

पुतलीको पीडा: तिलाको आक्रोश

२०७९ भाद्र १३, सोमबार १७:३४ बजे

कोइली झैं सुसेल्दै
निस्फिक्री गाउने तिलाको आवाजलाई
भिमकाय चट्टानले च्याप्दै थिए
एकल स्वरमा गाउने उनको चाहनालाई
परिस्थितिले रिमिक्स गर्दै थियो।

छ्वाप्ल्याङ्ग! एउटा वस्तु खस्यो
अनिच्छित संगीतमा अर्को कर्ड थपियो
उनी असमञ्जसमा परिन् 
रिसाउँदै एउटा भूमरी सृजना गरिन् र
त्यस वस्तुलाई निमेशभरमै दबाइदिइन्।

उनी रोकिइनन्, आक्रोशित् हुँदै कराउन थालिन्
झम्के साँझमा आरती जगाउन त देऊ
मेरो इतिहास बिगार्ने तिमीहरू नै हौ
आफ्नो अस्तित्व जोगाउन नसक्ने अनि 
बारबार मलाई पापको भारी बोकाउने?

(आँ⁓माँ ) नेपथ्यमा बालिका च्यांठ्ठिएको आवाज सुनिन्छ
तिला उक्त आवाजलाई पछ्याउन थाल्छिन् 
ती बालिकाको साथमा अर्की सानी नानी र 
कुप्री परेकी बुढी आमा समेत देखिन्छन्।

तिला (टाउकोमा हात लगाउँदै) फेरि भुतभुताउँछिन् 

हे पुतली!
मलाई थाहा छ कि 
तिम्रो गोठभरि भोका पशु छन्
आमा आई माम पकाई खुवाउने आशामा 
दैलो कुरी बसेका लालाबाला छन्
अनि तिम्रा मुहार फेर्न मुगलान पसेका तिम्रा मालिक 
घरमा फर्की आउन दशैं पर्खिरहेका छन्।

लाटी, कम्तीमा यत्ति हेक्का त राख
तिम्रो घाँसको भारी तिमी हिँड्ने बाटोमा अटाउँदैन
अनि सुन
म त्यति अकल्पित छैन जति वर्षाको खहरे छ
मेरो संगीत त्यति सुमधुर छैन जसमा तिमी निदाउन सक्छौ 
अनि म यति बिरानो पनि त छैन
जसलाई तिमीले स्मरणबाट हटाउन सक्छौ।

त्यसैले तिमी अब
मेरो आँखा नजिक नआऊ
मेरो श्वासले भेट्ने अनि 
मेरो संगीतले छुने दूरीभन्दा परै बस
किनकि मलाई तिमी होइन
तिम्रो यो स्थिति बनाउनेलाई लैजानु छ
तिम्राजस्तै सयौं सन्तान रुवाउनेलाई बडार्नु छ।

(नोट: केही दिनअघि कर्णालीमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएकी महिलामा समर्पित।)