२०८१ बैशाख १६, आईतबार    

सार्वजनिक भएन हप्तामा दुई दिन बिदा दिने मन्त्रिपरिषदको निर्णय

२०७८ चैत्र २५, शुक्रबार १५:५४ बजे

 बिहीबारको मन्त्रिपरिषद बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रीहरुबाटै बाहिर आएको त्यो निर्णय शुक्रबार सार्वजनिक भने भएन । बिहीबारको मन्त्रिपरिषद बैठकका निर्णय संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक गरे । 

तर, उनले सार्वजनिक गरेका निर्णयका २३ ओटा बुँदामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भने उल्लेख छैन ।

एक मन्त्रीका अनु्सार मन्त्रिपरिषदले शनिबार र आइतबार दुईदिन बिदा दिने निर्णय नीतिगत रुपमा मात्र भएकाले त्यसलाई सार्वजनिक नगरिएको हो । “शनिबार र आइतबार दुबै दिन बिदा दिएपछि शुक्रबारको आधा दिनको बिदा पनि कटौती गर्नुपर्यो । हप्तामै दुई दिन बिदा दिने भएपछि राष्ट्रिय बिदाको दिन पनि हिसाव गरेर कार्यान्वयन गराउनु पर्यो,” ती मन्त्रीले भने, “यी सबै कामका लागि उपयुक्त गृहकार्य र काम अघि बढाउनुपर्छ । त्यसैले हतारमा निर्णय सार्वजनिक नगरिएको हुन सक्छ ।”

ती मन्त्रीका अनुसार दुई दिन बिदा दिने नीतिगत निर्णय भने भइसकेको छ ।