२०८१ बैशाख २३, आईतबार    

हेटौंडा–१८ बासीलाई निःशुल्क खानेपानी

२०८० आश्विन १२, शुक्रबार १४:०४ बजे

हेटौंडा–१८ बड्कुलेका बासिन्दाले अब निःशुल्क खानेपानी उपभोग गर्न पाउने भएका छन् । स्थानीय खानेपानी आयोजनाबाट दैनिक जीवनयापनका लागि महंगो शुल्कमा पानीको प्रयोग गर्दै आएका बड्कुलेबासीले अब निःशुल्क पाउने भएका हुन् ।

२०५८ सालबाट सञ्चालन भएको मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत खानेपानीको प्रयोग गर्दै आएका बड्कुलेबासीले १० हजार लिटर पानीको प्रयोग वापत ६५० रुपैयाँ तिर्दै आएका थिए । कर्मचारी, विद्युत र मर्मत शुल्क गरेर खानेपानीको लागत मंहगो तिर्नुपर्ने बाध्यता रहेकोे समितिका अध्यक्ष राजेन्द्र घलानले बताए । उनका अनुसार समितिले ४ हजार लिटर पानी उपभोग गरे वापत २५० रुपैयाँ न्यूनतम शुल्क लिँदै आएका थियो ।

बिहीवार खानेपानी योजनालाई हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको छ । बोर्डलाई हस्तान्तरण गरेसँगै बड्कुलेबासीले १० हजार लिटरसम्म पानी निःशुल्क पाउने भएका हुन् । हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रमा खानेपानी बोर्ड मार्फत जडित धाराबाट पानीको उपभोग गर्नेलाई १० हजार लिटरसम्म निःशुल्क उपलव्ध गराउँदै आएको छ । तोकिए भन्दा बढि पानी उपभोग गरेमात्र महशुल लाग्नेछ । हस्तान्तरण कार्यक्रममा हेटौंडाका मेयर मीनाकुमारी लामाले नगरबासीलाई पानीको सुबिधाबाट बञ्चित नगराउने उद्देश्य अनुसार काम भैरहेको बताइन् ।

सरकार भएको अनुभुति दिलाउँदै नागरिकलाई दायित्व बोध गराउने गरी अघि बढिरहेको उनले जानकारी दिइन् । नगरबासीले धारामा आएको पानी सोझै प्रयोग गर्ने वातावरण बनाउने तयारीमा रहेको भन्दै लामाले खानेपानीको उचित व्यवस्थापनसँगै आर्थिक रुपमा कमजोर भएपनि विकासको काममा जोड दिदै अघि बढ्ने बताइन् । हर्नामाडी क्षेत्रमा उपभोक्ता समितिले सञ्चालन गरेको ३ वटा योजना बोर्डमा हस्तान्तरण भैसकेको छ ।

मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति राजेन्द्र घलानको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँ, खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, हेटौंडा उपमहानगरपालिकाका विज्ञ सल्लाहकार डा.कृष्ण धिताल, बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटा लगायतको आतिथ्यता थियो ।