२०८१ बैशाख ८, शनिबार    

११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख हेटौंडामा

२०७९ जेठ ३०, सोमबार ११:१८ बजे

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई डोजरे विकासबाट बाहिर निस्किन आग्रह गरेका छन् ।

वाग्मती प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि हेटौंडामा आयोजित अभिमुखीकरणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री पाण्डे स्थानीय तहमा डोजरे विकास मौलाएकोभन्दै चिन्ता व्यक्त गरेका हुन् । ‘महिला, बालबालिका, दलित, अपाङ्ग र सीमान्तकृत समुदायको विकासमा तपाईंहरु सक्रिय हुनुस् । प्रदेश सरकार तपाईंहरुसँगै हिँड्न चाहान्छ ।’, उनले भने ।

उनले असार १० गते स्थानीय तहले ल्याउने बजेटमा प्रदेशको नीति तथा कार्यक्रममा समावेश भएका योजनाहरुलाई समेत समेट्न आग्रह गरे । ‘तपाईंहरु जुनजुन पार्टीबाट निर्वाचित भएपनि अब सवै जनतालाई सेवा गर्न तयार हुनुहोस् ।’, मुख्यमन्त्री पाण्डेले भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र प्रदेश सुशासन केन्द्र वाग्मती प्रदेशको समन्वयमा हेटौंडामा प्रदेशभरका स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि दुईदिने तालिमको आयोजना गरिउको हो । तालिममा स्थानीय सरकार सञ्चालन र विकास सम्बन्धि प्रक्रिया र कानुनको विषयमा उनीहरुलाई जानकारी गराइनेछ ।