२०८१ बैशाख १४, शुक्रबार    

वाग्मती प्रदेशमा नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

२०७९ चैत्र २६, आईतबार १९:१४ बजे

नेपाली कांग्रेसबाट वाग्मती प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शनिबार हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीबाट उनीहरूले शपथ ग्रहण गरेका हुन् ।

कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिंह लामा र काभ्रेका सांसद तीर्थ लामा पहिलो चरणमा मन्त्रिपरिषद्‌मा सहभागी भएका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

मुख्यमन्त्रीले लामो समयदेखि मन्त्रिपरिषद् विस्तारको तयारी गरे पनि सत्तारुढ दलबीच मन्त्रालय भागबन्डाको विषयमा सहमति नहुँदा मन्त्रिपरिषद् विस्तार अन्योलमा परिरहेको थियो ।

दलका नेता बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना र तीर्थ लामाले खानेपानी, ऊर्जा तथा सिञ्चाईंमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । अब प्रदेश सरकार ६ सदस्यीय भएको छ । अझै ५ वटा मन्त्रालय नेतृत्वविहीन अवस्थामा छन् । केही दिनमा बाँकी मन्त्रालयमा पनि मन्त्री नियुक्त हुने मुख्यमन्त्रीको दाबी छ ।