२०८१ बैशाख २७, बिहीबार    

गणपुरक संख्या नपुगेपछि हेटौंडाको नगरसभा स्थगित

२०७९ असार १०, शुक्रबार १४:१८ बजे

गणपुरक संख्या नपुगेपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । नगरसभामा बहुमत रहेको नेकपा एमालेका जनप्रतिनिधिले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित बनेको हो ।

बिहान १० बजेका लागि बोलाइएको ११औं अधिवेशनमा एमालेबाट निर्वाचित नगरसभा सदस्य उपस्थित भए पनि हस्ताक्षर नगरेपछि शुक्रबार नगरसभाको बैठक स्थगित गरिएको हो । नगरसभा आइतबार बिहान १ बजेका लागि पुन: बोलाइएको छ ।

हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा नगरसभाको बैठक बोलाइएको थियो । बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधि हलमा प्रवेश नगरी बाहिरै बसेका थिए । एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै पहिलो कार्यपालिकाको बैठकबाटै नेकपा (एस)बाट निर्वाचित मेयर मीना लामालाई असहयोग गरिरहेको छ ।

एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राख्दै आएको छ । एमालेले नगरसभामा बहुमत रहेको दलसँग समन्वय नै नगरी नीति तथा कार्यक्रम र बजेट तयार पारेको भन्दै विरोधसमेत गर्दै आएको थियो । कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन् ।

वाग्मती प्रदेशको एक मात्रै उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।