२०८१ बैशाख १४, शुक्रबार    

गरिब जनताको हितका लागि काम गर्छौँः नेता बानियाँ

२०७९ कार्तिक २९, मंगलबार १८:०२ बजे

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर– २ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले गठबन्धनको सरकार बनेपछि गरिब, निमुखा जनताको पक्षमा प्राथमिकताका साथ काम गरिने बताएका छन् ।

गठबन्धनले कैलाश गाउँपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता बानियाँले गरिबमुखी, न्यायमुखी वातावरण सिर्जना गरी जनताको आधारभूत आवश्यकता पूरा गर्दै शिक्षा, स्वास्थ्य रोजगार, पूर्वाधार विकास, ग्रामिण विद्युतीकरण, खानेपानीलगायत जनहितका कामलाई प्राथमिकता दिइने बताए । उनले बागमती प्रदेशका गरिब निमुखा जनताको लागि ५ वर्षको अवधिमा १० हजार घर बनाएर हस्तान्तरण गरिने बताए ।

प्रदेशमा १० महिना गठबन्धनले सरकारको नेतृत्व गर्दा कैलाश गाउँपालिकाको पूर्वाधार विकासमा करोडौँ बजेट विनियोजन गरेको भन्दै आगामी दिनमा जनताको अवस्था सुधार गर्न गठबन्धनले सरकारको नेतृत्व गर्नुपर्ने बताए । एमालेले साढे ३ वर्ष सरकारको नेतृत्व गर्दा सो क्षेत्रको विकास निर्माणको कामलाई उपेक्षा गरेको भन्दै अब उनले अब जनताले एमालेलाई विश्वास नगर्ने बताए ।

जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार गरेको भन्दै बानियाँले अबको निर्वाचनबाट जनताले प्रतिगमनकारीहरुलाई परास्त गर्ने बताए ।

गठबन्धनका कैलाश गाउँपालिका संयोजक तेजबहादुर ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा गठबन्धनका विभिन्न दलका नेताहरु ओमबहादुर घलान, गोविन्दराम चेपाङ, सन्त चेपाङ र सरु थापा, ललित बस्नेत, बालकुमार मल्ल, राजेन्द्र घिसिङ, टंकबहादुर मोक्तान, कांग्रेस नेता पदमबहादुर तितुङ, सीता पुलामी, लगायतको उपस्थिति रहेको थियो ।