२०८१ बैशाख २२, शनिबार    

मानव अधिकार र ज्यादतीको घटना बढ्दो

२०७९ असार ७, मंगलबार १७:०९ बजे

वाग्मती प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले नागरिकको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले हेटौंडामा ०७९ असार ७ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री नेपालीले यस्तो बताएकी हुन् ।

इन्सेक जिल्ला प्रतिनिधिका अनुसार जिल्लामा सन् २०२२ को जनवरी–जुन महिनासम्मको अवधिमा जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ३३ ओटा घटना भएको छ । जसमध्ये २२ जना महिला ११ जना पुरुष गरी ३३ जना पीडित भए । बाल अधिकारका घटनामा नौ जना बालिका पीडित भएकोमा आठ जना बलात्कारका घटना र एक नवजात शिशु हत्याको घटनामा पीडित भएका छन् ।

विद्यालयमा शिक्षकबाटै सात जना बालिका यौन दुरुपयोगका घटनामा पीडित भएको घटना पनि इन्सेकले अभिलेख गरेको छ । महिला अधिकारका घटनामा १० जना पीडित भएकोमा सात जना बलात्कार र तीन जना बहुबिबाहको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ ।

पाँच वटा हत्याका घटना भएका छन् । जसमा एक जना महिला र चार जना पुरुष छन् । ९ वटा हत्या प्रयासका घटनामा दुइजना महिला र सात जना पुरुष पीडित भएको इन्सेकमा अभिलेख भएको छ । ६ महिनाको अवधिमा परिवारजनबाट तीनजना बालिकासहित चारवटा बलात्कार, एक नवजात शिशुसहित पाँच वटा हत्याको घटना इन्सेकमा अभिलेख भएको जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले जानकारी दिए ।