२०८१ बैशाख १५, शनिबार    

मनहरीमा एकैपटक १७ जना प्रधानाध्यापकको सरुवा

२०८० भाद्र १, शुक्रबार १८:३८ बजे

मकवानपुरको मनहरी गाउँपालिकाले शिक्षा क्षेत्रको सुधार गर्ने प्रतिबद्धतासहित एकैपटकमा १७ जना प्रधानाध्यापकको सरुवा गरेको छ ।

गाउँपालिकाले ‘शिक्षामा परिवर्तन’ भन्ने नाराका साथ प्राथमिक तहका प्रधानाध्यापकलाई एकैपटक सरुवा गरेको हो । शुक्रबार सरुवा भएका शिक्षकहरुलाई गाउँपालिकाले सरुवाको पत्रसहित आगामी जिम्मेवारी प्रदान गर्दै विदाई समेत गरेको छ ।

गाउँ शिक्षा समितिको साउन २९ गतेको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‘गाउँपालिकाले शिक्षा र स्वास्थ्यको बजेट बढाएको छ । यस्तो अवस्थामा अब नतीजमुखी काम गर्नुपर्ने हुन्छ । त्यसकारण पहिलो चरणमा प्रअको सरुवा गरिएको हो ।’, उनले भने ।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार शिक्षक सरुवामा कुनै पूर्वाग्रह राखिएको छैन । ‘हामीले शिक्षकसँगको सहमतिमै सरुवा गरेका हौं ।’, उनले सरुवा भएका शिक्षकहरुलाई मासिक १५ सय रुपैयाँ भत्ताको समेत व्यवस्था गरिएको बताए । ‘हाम्रो प्राथमिकता स्वास्थ्य र शिक्षा हो । प्राथमिक तहबाटै शिक्षालाई बलियो बनाएर लैजाने योजना अनुसार यसो गरिएको हो ।’, उनले दुर्गमका शिक्षकका लागि छुट्टै भत्ताको समेत व्यवस्था गर्न लागिएको जानकारी दिए ।

पालिकाका सामाजिक विकास समिति संयोजक प्रकाश अर्यालले नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरिएको बताए । ‘शिक्षक सरुवा, आवश्यक भौतिक पूर्वाधार निर्माण र दरबन्दी मिलान सवै हामी क्रमशः गर्नेछौं ।’, उनले शिक्षा क्षेत्रको सुधारका लागि सर्वपक्षीय सहमति जुटाएर काम भइरहेको बताए ।