२०८१ बैशाख १२, बुधबार    

मकवानपुरमा ‘जालझेलमा फस्यो’ गठबन्धनको तालमेल

२०७९ बैशाख १४, बुधबार १७:५९ बजे

स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ पाँच दलीय गठबन्धन भएपनि गठबन्धनको तालमेलमा जालझेल देखिएको छ ।

प्रदेश तहबाट गठबन्धन टुंगो लगाएपनि स्थानीय तहमा दलहरुको सहमति अनुसार उम्मेदवारी दर्ता नुहँदा तालमेलमा जालझेल देखिएको हो । मकवानपुरको १० वटै स्थानीय तहमा गठबन्धन भएपनि पाँच स्थानीय तहको प्रमुख र उपप्रमुख दुबैमा गठबन्धन भत्काएर उम्मेदवारी दर्ता भएको छ ।

बकैया, कैलाश, मनहरी, राक्सिराङ र इन्द्रसरोवर गाउँपालिकामा गठबन्धनको तालमेलभन्दा फरक उम्मेदवार खडा गरेर उम्मेदवारी दिइएको छ । यो अवस्थामा मकवानपुरमा आंशिक गठबन्धन भएको देखिन्छ । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, भीमफेदी, बागमती गाउँपालिकामा भने, गठबन्धनमा भएको तालमेल अनुसारनै उम्मेदवारी दर्ता गरिएको छ ।
प्रदेश तहमा गठबन्धनको सहमति अनुसार बकैयामा नेपाली काँग्रेस प्रमुख, नेकपा माओवादी केन्द्र उपप्रमुख, कैलाशमा प्रमुख काँग्रेस, उपप्रमुख नेकपा माओवादी केन्द्र, मनहरीमा काँग्रेस प्रमुख, नेकपा माओवादी केन्द्र उपप्रमुख र इन्द्रसरोवर गाउँपालिकामा नेकपा एकीकृत समाजवादीलाई प्रमुख र उपप्रमुख काँग्रेसको भागमा पारिएको थियो । तर, बकैयामा तीन दलले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । धर्मराज लामिछाने काँग्रेसबाट प्रमुख, उपप्रमुखमा छायाँ अधिकारी, नेकपा माओवादी केन्द्रबाट लक्ष्मीमाया माझि, उपप्रमुखमा भक्तबहादुर खत्री, नेकपा एकीकृत समाजवादीबाट प्रमुखमा नारायण तिमल्सिना, उपप्रमुखमा उर्मिला राइले उम्मेदवारी दिएका छन् ।

कैलाशमा पनि गठबन्धन भत्काएर उम्मेदवारी दर्ता भएको छ । नेपाली काँगे्रसबाट लोकबहादुर मोक्तान, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीबाट टेकबहदुर मोक्तानले उम्मेदवारी दिएका छन् । मनहरीमा गठबन्धनका तीन वटै दल र काँग्रेसबाट बागी उम्मेदवारी परेको छ । मनहरीमा प्रमुखमा काँग्रेसबाट रञ्जन कालाखेती, एकीकृत समाजवादीबाट नारायण श्रेष्ठ र बागी उम्मेदवार काँग्रेस (बीपी)बाट शंकर न्यौपानेले उम्मेदवारी दिएका छन् । उपप्रमुखमा रेखा पुलामी नेकपा माओवादी केन्द्रबाट, मनिला बिष्ट नेकपा एकीकृत समाजवादीबाट र काँग्रेस (बीपी)बाट जानुकी लामाले बागी उम्मेदवारी दिएकी छन् ।

राक्सिराङमा पनि तालमेल तोडेर उम्मेदवारी दर्ता गरिएको छ । काँग्रेसबाट राजकुमार मल्ल र नेकपा एकिकृत समाजवादीको तर्फबाट कृष्ण बहादुर प्रजाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा नेकपा एमालेबाट सुन्तली माया प्रजा, नेकपा माओवादी केन्द्रबाट वनस्तम थिङ र नेकपा एकिकृत समाजवादीका तर्फबाट मिलनकुमारी तामाङले उम्मेदवारी दिएका छन् ।

इन्द्रसरोवरमा गठबन्धन भत्काइएको छ । इन्द्रसरोवरको प्रमुखमा एकीकृत समाजवादीबाट जीवन लामा, जनता समाजवादी पार्टीबाट देवकुमार लामा, काँग्रेसबाट विश्व लामाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा काँग्रेसबाट निर्मला रुम्बा र जसपाबाट रस्मिला घिसिङले मनोनयन दर्ता गराएका छन् ।

गठबन्धनमा भएको भागबण्डालाई स्वीकार्दै हेटौंडा उपमहानगरको प्रमुखमा एकीकृत समाजवादीबाट मिना लामा, काँग्रेसबाट राजेश बानियाँ, थाहा नगरको प्रमुखमा माओवादी केन्द्रबाट विष्णु बिष्ट, उपप्रमुख काँग्रेसबाट भरत गोपाली, भीमफेदीको प्रमुखमा माओवादी केन्द्रबाट बद्री स्याङ्ता, उपप्रमुखमा काँग्रेसबाट संजीव श्रेष्ठ, बागमती गाउँपालिकामा माओवादी केन्द्रबाट सर्केश घलान र काँग्रेसबाट फाणिन्द्र तिमल्सिना, मकवानपुरगढीमा काँग्रेसबाट प्रमुखमा दार्जे लामा र माओवादी केन्द्रबाट मानकुमारी नेपाली उम्मेदवार बनेका छन् ।