२०८१ जेठ ५, शनिबार    

कार्यकर्ता पोस्न २३ सय टुक्रे योजना

२०७८ फाल्गुन १९, बिहीबार ०८:२९ बजे

वाग्मती प्रदेश सरकारले आफ्नो खर्च बढाउन धमाधम टुक्रे योजना वितरण गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै गठबन्धन सरकारले ५ लाख दरका दुई हजारभन्दा बढी टुक्रे योजना वितरण गरेको हो । 

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा चालु आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्ने गरी २ हजार ३ सय वटा टुक्रे योजनालाई बजेट बाँडफाँट गरिएको छ । अर्थ तथा विविध शीर्षकबाट करिब १ अर्ब ५ करोड रुपैयाँ बराबरको योजना जिल्लागत रूपमा वितरण गरिएको मन्त्रालयले जनाएको हो । ‘उपभोक्ता समितिमार्फत खर्च गर्ने गरी योजना वितरण भएको छ । सबै योजना ५ लाख रुपैयाँसम्मका छन् । मन्त्रिपरिषद्को सिफारिसबाट प्राप्त भएको योजनालाई बजेट बाँडफाँट गरिसकेका छौं,’ मन्त्रालयका एक कर्मचारीले भने । उनका अनुसार यी योजना चालु आवको बजेट तथा नीति तथा योजनामा परेका थिएनन् ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा गठित प्रदेश पूर्वाधार विशेष कार्यक्रम कार्यान्वयन कार्यविधि समितिले योजना छनोट गरेको एक मन्त्रीले बताए । समितिमा कांग्रेस संसदीय दलका उपनेता तथा भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भडेल र माओवादी संसदीय दल नेता, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल छन् । 

आर्थिक वर्षको बीचमा सोझै नयाँ योजना ल्याउन नमिल्ने भएपछि यसरी योजना ल्याइएको हो । प्रदेश सरकारले १० लाख रुपैयाँभन्दा कम बजेटको योजना कार्यान्वयन नगर्ने नीति अवलम्बन गरे पनि त्यसलाई पूर्ण रूपमा बेवास्ता गरिरहेको छ । मन्त्रिपरिषद्ले पास गरेको योजनामा सडक सञ्जाल निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, विद्यालयको कम्पाउन्ड निर्माण, सामुदायिक वन भवन निर्माण, दुग्ध संकलन केन्द्र स्थापना, बाख्रापालनलगायत योजनाहरू समावेश गरिएको छ ।