२०८० चैत्र १६, शुक्रबार    

सानदार जितसँगै इंग्ल्यान्ड फाइनलमा

२०७९ कार्तिक २४, बिहीबार १६:५४ बजे

इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । इंग्ल्यान्डले उपाधिको लागि आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्ड र पाकिस्तान दुबै दोस्रो पटक उपाधि जित्ने सोचमा हुनेछन् । 

जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १६ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्स ४७ बलमा ४ चौका र ७ छक्कासहित ८६ रनमा अविजित रहे ।

कप्तान जस बटलर ४९ बलमा ९ चौका र ३ छक्कासहित ८० रनमा अविजित रहे । जस बटलरले विजयी छक्का हान्दै फाइनलमा स्थान पक्का गराए

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए । उनी अन्तिम बलमा हिट विकेटको रुपमा आउट भएका थिए ।