२०८१ बैशाख १९, बुधबार    

नौ एजेण्डा लिएर जनताको घरदैलोमा डीना

२०७९ कार्तिक १४, सोमबार १२:०० बजे

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले आफ्नो चुनावी अभियानलाई तीब्रता दिएकी छन् ।

मकवानपुर क्षेत्र नम्बर १ बाट सत्तारुढ गठबन्धनतर्फकी उम्मेदवार रहेकी डीनाले नौ वटा ऐजण्डा लिएर जनताको घरदैलोमा पुगेकी छन् । अन्य उम्मेदवारहरु ऐजण्डाविहीन भएको अवस्थामा उनी आफ्नो प्रतिबद्धता पत्र जनताको हातमा थमाउँदै आफ्नो योजना पनि बताइरहेकी छन् ।

उनले शिक्षा, स्वास्थ्य, रोजगारी र औद्योगिकरणमा जोड दिएकी छन् । ‘युवाको अधिकार, स्वदेशमै रोजगार’, ‘समृद्ध हेटौंडा नगर, औद्योगिकरणमा विस्तार’ उनको मुख्य नारा रहेका छन् । उनले ‘मेरो अगाडिको कदम, सवल महिला अवसरमा पहिला’ भन्ने नारालाई पनि जोड दिएकी छन् ।

समान अवसर न्यायपूर्ण समाजको निर्माण र महिलाको सम्मान आवश्यकता रहेको औंल्याउँदै डीनाले शान्ति र समृद्धिको पहिचान गठबन्धन सरकारले गर्ने दावी गरेकी छन् । स्वस्थ्य जीवन र सुरक्षा, ज्येष्ठ नागरिकको हेरचाहमा आफ्नो प्रतिबद्धता रहेको घरदैलोको क्रममा बताएकी छन् ।

शिक्षा, स्वास्थ्य, कृषि, सहकारी र कलकारखाना उद्योगबाट युवालाई रोजगार सिर्जना गर्न सकिने दावी गर्दै उनले,‘सफा सुन्दर हरियाली र स्वच्छ पानी हेटौंडालाई बनाउने प्रदेश मध्येको पहिलो राजधानी’ भन्दै जनताको मन जित्ने कोसिस गरिरहेकी छन् । उनले सुशासन, दिगो विकासमा गठबन्धले काम गर्ने बताइन् ।