२०८१ बैशाख १३, बिहीबार    

हल्यान्डलाई सिटीको चर्को मूल्य

२०७९ बैशाख २८, बुधबार ११:२७ बजे

म्यानचेस्टर सिटीले आफ्ना प्रतिद्वन्द्वी टोलीहरूलाई कडा चेतावनी दिँदै स्टार स्ट्राइकर इर्लिङ हल्यान्डलाई बोरुसिया डर्टमन्डबाट अनुबन्धन गरेको मंगलबार घोषणा गरेको छ । प्रिमियर लिग च्याम्पियन टोली सिटीले ६ करोड युरो तिर्न तयार भएपछि नर्वेजियन अन्तर्राष्ट्रिय खेलाडी हल्यान्ड इतिहाद जान लागेका हुन् ।

‘हामीले बोरुसिया डर्टमन्डसँग इर्लिङ हल्यान्डका लागि २०२२ को जुलाई १ देखि लागू हुने गरी सरुवा गर्न सहमति जनाएको म्यानचेस्टर सिटी निश्चित गर्दछ,’ सिटीको विज्ञप्तिमा भनिएको छ, ‘खेलाडीसँग क्लबले सहमतिको अन्तिम रूप दिन बाँकी छ ।’ कीर्तिमानी गोल गर्दै आएका सर्जियो अगुइरो गत वर्ष सिटीका छाडेर गएपछि टोलीले लामो समयदेखि विशेषज्ञ स्ट्राइकरको खोजी गर्दै आएकामा २१ वर्षे अग्ला स्ट्राइकर हल्यान्डलाई लिएको हो । गत सिजनमा सिटीले टोटेनहमबाट इंग्ल्यान्डका कप्तान ह्यारी केनलाई ल्याउन खोजे पनि त्यो अन्तिममा असफल भएको थियो ।

हल्यान्डका बुवा अल्फे–इन्गेले सन् २००० देखि २००३ सम्म सिटीबाट खेलेका थिए । २०२० को जनवरीमा आरबी साल्जबर्गबाट डर्टमन्ड आएयता हल्यान्डले सानदार प्रदर्शन गर्नेक्रममा ८८ खेलमा ८५ गोल गरेका थिए । उनको सिटीसँग सम्भावित सरुवालाई लिएर सोमबारदेखि नै विभिन्न चर्चा चलिरहेको थियो । समाचारहरूमा जनाइअनुसार उनले स्वास्थ्य परीक्षण नै गरिसकेको जनाइएको थियो ।

सिटीले बुधबार खेल्ने उल्भससँगको प्रिमियर लिग खेलअगाडि व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार पत्रकार सम्मेलनमा हल्यान्डका सरुवालाई लिएर बोल्न अनिच्छुक थिए तर सम्झौता भइसकेको आँकलन गरिएको थियो । ‘यो स्थिति सबैलाई थाहै छ, तर म यसबारेमा बोल्दिनँ किनभने मलाई अर्को सिजन भविष्यलाई लिएर कुरा गर्न मनपर्दैन ।’

उनले अगाडि भनेका थिए, ‘तर म यही माहोलमा भन्छु, बोरुसिया डर्टमन्ड र म्यानचेस्टर सिटीले मलाई सम्झौता पूरा नभएसम्म नबोल्न भनेको छ, त्यसैले म बोल्दिनँ, त्यसका लागि म माफी चाहन्छु । समय आएपछि म यसबारेमा बोल्ने छु ।’ सिटीले यस सिजनको प्रिमियर लिगमा सर्वाधिक ८९ गोल गरिसकेको छ तर पछिल्ला दुई सिजनमा प्रायजसो मुख्य स्ट्राइकरबिनै खेलिरहेको छ । रियाद महारेजले सर्वाधिक २४ गोल गरेका छन् भने रहिम स्टर्लिङले १६, केभिन डी ब्रुयनले १५ र फिल फोडेनले १४ गोल गरेका छन् ।

यस सिजनको प्रिमियर लिग समाप्त हुनु तीन खेलअगाडि सिटीले लिभरपुलमाथि ३ अंकको अग्रता लिएको छ । टोली ५ वर्षमा चौथो पटक लिग उपाधि नजिक छ । तर टोली च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिडसँग समग्रमा ६–५ ले पराजित भएको थियो । इतिहादमा छैटौं सिजन बिताइरहेका ग्वार्डिओलाले सबैखाले सफलता पाए पनि उनी युरोपियन प्रतियोगितामा असफल रहँदै आएका छन् । हल्यान्डको आगमनमा सिटीले च्याम्पियन्स लिगमा पनि प्रभुत्व जमाउने विश्वास लिएको छ ।