२०८१ बैशाख १९, बुधबार    

धमाधम बढ्दै डेंगुको संक्रमण

२०८० असार २९, शुक्रबार १३:०८ बजे

बागमतीमा यस वर्षमा पनि डेंगु सङ्क्रमणको जोखिम उच्च रहेको छ । बागमती प्रदेशको १३ जिल्लामा गत जुन महिनासम्ममा ४२ हजार बढी जनामा डेंगु संक्रमण देखिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २०२२ जुलाईदेखि हालसम्म ४२ हजार ७१४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

२०२३ जुन महिनामा मात्र प्रदेश भर ११७ जनामा डेंगु संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी डा. रविन भुषालले जानकारी दिए । मे महिनामा प्रदेशमा २७ जनामा डेंगु सङ्क्रमण देखिएकोेमा एक महिनाको अन्तरालमा ९० जना डेंगु संक्रमित थपिएको छ ।

२०२३ को फेव्रुअरीमा ३० जना डेंगु संक्रमित रहेको बागमतीमा मार्च महिनामा २९ र अप्रिलमा ५२ जनामा संक्रमण देखिएको थियो । त्यसअघि २०२२ जुलाईदेखि २०२३ जनावरीसम्ममा प्रदेशमा ४२ हजार ४५९ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो एक महिना अर्थात् जुनमा प्रदेशका अधिकांश जिल्लामा डेंगु संक्रमण वृद्धि भएको देखिन्छ । प्रदेशको २ जिल्ला बाहेक सबैै जिल्लामा डेंगुका विरामी फेला परेका छन् । 

मे महिनामा प्रदेशको ६ जिल्लामा मात्र डेंगुका विरामी फेला परेको सूचना अधिकारी डा. भुसालले बताए । उक्त महिनामा रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर र ललितपुरमा डेंगुका विरामी फेला परेका थिए भने जुन महिनामा दोलखा र रामेछाप बाहेकका ११ जिल्लामा डेंगुका विरामी भेटिएका थिए ।