२०८१ बैशाख ६, बिहीबार    

बागमती प्रदेश सरकार गठनमा कांग्रेस पनि पहल गर्दै

२०७९ पौष २२, शुक्रबार १८:२७ बजे

बागमती प्रदेशको सबैभन्दा ठुलो दल कांग्रेस पनि सरकार गठनका लागि सम्भावनाको खोजीमा जुटेको छ । केन्द्रीय सत्ता समीकरण विपरितको समीकरण निर्माण गरी सत्ता हत्याउने दाउमा कांग्रेस छ । सोही अनुसार कांग्रेसले छलफलसमेत अघि बढाएको छ ।

सत्ता गठबन्धनमा भागबण्डाको विवाद चलिरहेको अवस्थामा कांग्रेसको नजर फरक सत्ता समीकरण निर्माणमा केन्द्रित भएको हो । केन्द्रमा सात प्रदेशको प्रमुख पद बाँडफाँटमा असन्तुष्ट राप्रपासहित एकीकृत समाजवादीको साथ लिएर कांग्रेसले बागमती प्रदेशमा सरकार गठन गर्ने रणनीति बनाएको छ । सोही अनुसार कांग्रेसले राप्रपालाई प्रदेशको मुख्यमन्त्री बन्न अफर गरेको बुझिएको छ ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार प्रदेश सरकार गठनबारे पार्टीले औपचारिक छलफल नगरेको तर अनौपचारिक रुपमा छलफल भएको बताइन् । उनले प्रदेशमा सरकार गठनका लागि कांग्रेसका सबै नेताले सक्रिय रुपमा भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ । उनले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा सरकार गठन गर्नु जरुरी नरहेकाले फरक समीकरणबाट पनि सरकार बनाउन कांग्रेस तयार रहेको बताइन् ।

‘प्रदेश सरकार गठनका विषयमा अनौपचारिक छलफलहरु भएका छन् । केन्द्रमा जस्तो समीकरण छ, प्रदेशमा पनि त्यस्तै हुनुपर्छ भन्ने जरुरी हुँदैन । प्रदेशमा फरक समीकरणबाट पनि सरकार बनाउन सकिन्छ,’ उनले भनिन्, ‘सत्ता समीकरण निर्माणमा प्रदेशले आफ्नो भूमिका निर्वाह गर्न सक्नु पर्छ । प्रदेशका दलहरुले केन्द्र अनुसार भन्दा पनि आफू अनुकुल समीकरण बनाओस् भन्ने हाम्रो कुरा हो ।’

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुर सिंह लामाले प्रदेश सरकार गठनमा थुप्रै सम्भावना बाँकी रहेकाले प्रदेशको ठुलो दलको हैसियतले कांग्रेसले अन्तिम समयसम्म पहल गर्ने बताए ।

प्रदेशमा सरकार गठनका लागि कांग्रेसले सबै मार्ग खुला गरेर छलफल गरिरहेको उनको भनाइ छ । सरकार गठनका विषयमा केन्द्रको समीकरण आफ्नो ठाउँमा राखेर प्रदेश अनुकुल समीकरण बनाउन सकिने उनले बताए ।

यता बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य कृष्णप्रसाद शर्मा खनाल पनि प्रदेशस्तरको छलफलबाट सरकार गठन गर्नुपर्ने बताउँछन् । उनले प्रदेश सरकार गठनबारे केन्द्र र प्रदेशमा पनि केही छलफल भएको बताए ।