२०८१ जेठ ८, मंगलबार    

हेटौंडामा कमल थापालाई झड्का : गाउँपालिका अध्यक्षको उम्मेवार नै कांग्रेस प्रवेश

२०७८ माघ २५, मंगलबार १२:४७ बजे

हेटौंडा/ नयाँ दल खोल्ने तयारीेस्वरुप हेटौंडा आएकै दिन राप्रपाका पूर्वकेन्द्रीय अध्यक्ष कमल थापालाई झट्का लागेको छ ।

राप्रपाको तर्फबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा बकैया गाउँपालिका अध्यक्षको उम्मेदवार रहेकी नेतृ लक्ष्मी जिम्बा कांग्रेसमा प्रवेश गरेसँगै थापालाई आफ्नै गृह जिल्लाबाटै नयाँ दल खोल्ने विषयमा समर्थन नहुने संकेत देखिएको छ । कांग्रेस पार्टी कार्यालयमा मंगलबार लक्ष्मीलाई कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, जिल्ला कार्यबाहक सभापति विष्णु लामिछाने तथा संघीय सभापति दामोदर खनालले स्वागत गरेका थिए ।

कांग्रेस प्रवेश गरेसँगै नेतृ जिम्बाले आफू जनताको सेवा गर्नका लागि राजनीतिमा लागेको र सोही अनुसारको जिम्मेवारी दिन आग्रह गरिन् । उनले कमल थापाबारे टिप्पणी गर्दै भनिन्,‘उहाँ चुनावमा पराजित भएपछि अनावश्यक र गलत टिकाटिप्पणी गर्दै हिँडिरहनु भएको छ । कार्यकर्ताको मतको सम्मान गर्न सक्नु भएको छैन । त्यस कारण हामीले पार्टी छाडेका हौं ।’, उनले भनिन्,‘आफ्नो स्वार्थ अनुसार कमल थापा अगाडि बढ्न खोजेको कारण अब नेपालमा राप्रपाको भविष्य छैन ।’

उनीसँगै राप्रपा जिल्ला सदस्य अर्जुन तिमल्सिनालगायत करिब ६० जना राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् ।