जिल्ला लिग फुटबल प्रतियोगितामा एफसी पोतालालाई उजुरी लागेको छ ।
नियम विपरित जिल्ला बाहिरको खेलाडी खेलाएको प्रमाणित भएसंगै पोतालाले जितेको खेल समेत हारेको छ । पहिलो क्वाटरफाइनलमा पोतालाले कम्बाइनलाई २-१ ले हराएको थियो । नियम विपरित खेलाडी खेलाएको भन्दै कम्बाइनले आयोजक समक्ष प्रमाणसहित उजुरी हालेको थियो ।
पोतालाका खेलाडी सन्त घलेले गोरखा जिल्लाको लिग खेलेको र उनी गोरखाकै बासिन्दा भएको कम्बाइनको दावी थियो । आयोजकले छानविन गर्दा उक्त खेलाडी गोरखा जिल्लाकै भएको र त्यहाँको लिग समेत खेलेको पाएपछि पोताला विरुद्धको उजुरी सदर गरेको हो ।
योसँगै पोतालाले जितेको खेल हारेको छ भने कम्बाइनले खेल जितेको छ । उजुरी लागेसंगै कम्बाइन सेमिफाइनलमा प्रवेश गरेको छ । पोताला अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको क्लव हो ।