२०८१ माघ २८, सोमबार    

प्रदेशमा सात सचिव रिक्त, प्रशासनिक काम प्रभावित

२०८१ पौष ११, बिहीबार १०:२५ बजे

नेता व्यवस्थापन र राजनीतिक भागबण्डा मिलाउन मन्त्रालयको संख्या बढाएको वाग्मती प्रदेश सरकारले सबै मन्त्रालयमा सचिव व्यवस्थापन गर्न सकेको छैन ।

१४ मन्त्रालय रहेको वाग्मती प्रदेशमा ७ सचिव पद रिक्त छ भने चार जना सचिव दोहोरो जिम्मेवारीमा छन् । प्रदेश सरकारमा विशिष्ट श्रेणीका कर्मचारी अभाव हुँदा प्रशासनिक कामसमेत प्रभावित भइरहेको छ । मन्त्रालयको कामकाज नै रोकिने स्थितिमा पुगेपछि प्रदेश सरकारले मन्त्रिपरिषद्को बैठकबाट चार जना सचिवलाई दोहोरो जिम्मेवारी दिएको छ ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्रकुमार केसीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको समेत जिम्मेवारी छ । प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समेत जिम्मेवारीमा रहेका छन् । यस मन्त्रालयमा एक वर्षदेखि नै सचिव पदको दरबन्दी रिक्त छ ।

दोहोरो जिम्मेवारीमा रहँदा आफूलाई दैनिक रूपमा काम गर्न असहज हुने गरेको सचिव दर्जी बताउँछन् ।

सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रेले पनि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी बहन गरिरहेका छन् । प्रदेश नीति तथा योजना आयोगका सचिव केशवराज सुवेदी पनि दोहोरो जिम्मेवारीमा छन् । स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले गतअसोजमा अनिवार्य अवकाश पाएदेखि नै यो मन्त्रालयमा सचिव पद रिक्त छ ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाको सरुवा भएको छ । कात्तिक महिनामा आदिबासी आयोगमा सरुवा भएका निरौलालाई प्रदेश सरकारले रवाना दिएको छैन ।

प्रदेशमा खटाइएका संघका सचिवलाई संघीय सरकारले तानेपछि प्रदेशको कामकाजमै असर परेको भन्दै मुख्यमन्त्री बहादुरसिंह लामाले सचिव सरुवा रोक्नका लागि संघीय सरकारलाई पत्र समेत लेखेका थिए ।

 मुख्यमन्त्री कार्यालयमै अहिले शासकीय सुधार तथा सुशासन महाशाखा र कानुन शाखामा सचिव छैनन् । मुख्यमन्त्री कार्यालयको कानुन सचिव पद पनि रिक्त छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सचिव अभावलाई व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको बताए । कर्मचारी व्यवस्थापनका विषयमा मुख्यमन्त्रीले मन्त्रिपरिषद् बैठक तथा अनौपचारिक रूपमा पनि छलफल गरिरहेको उनको दाबी गरे ।