२०८१ बैशाख १४, शुक्रबार    

डिना प्रतिनिधिसभा र बानियाँ प्रदेशमा सिफारिस

२०७९ भाद्र १७, शुक्रबार ११:३५ बजे

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख) ले प्रदेश तथा प्रतिनिधिसभामा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको छ ।

बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनालाई मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउन एक मात्र नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ भने हालका बागमती प्रदेश सदस्य एवम् प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाको नाम पहिलो नम्बरमा सिफारिस भएको छ । त्यस्तै समानुपातिकतर्फको दोस्रो नम्बरमा उमा दाहालको नाम राखिएको छ ।

प्रदेशसभातर्फ उम्मेदवार बन्नको लागि ४ जनाको नाम सिफारिस गरिएको छ । पार्टी बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको नाम प्रदेशसभातर्फको प्रत्यक्ष उम्मेदवारको पहिलो नम्बरमा सिफारिस भएको छ भने पार्टी मकवानपुर सभापति बुद्ध लामाको नाम दोस्रो नम्बरमा रहेको छ । प्रदेशसभातर्फ प्रत्यक्ष उम्मेदवारतर्फ शंकर न्यौपाने र ईश्वर पाठकको नाम पनि तेस्रो र चौथो नम्बरमा सिफारिस गरिएको छ ।

प्रदेशको समानुपातिकतर्फ भने १९ जनाको नाम सिफारिस भएको छ । प्रदेशको समानुपातिकतर्फ जानकी लामा तामाङ र जानुकी लामाको नाम पहिलो र दोस्रो नम्बरमा राखी बाँकी १७ जनाको नाम लेखेर सिफारिस गरिएको नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ ख का सचिव कृष्णले बताए ।