मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट चालु आर्थिक वर्षमा तीनवटा पक्की पुल निर्माण सम्पन्न गरेको छ ।
मनहरी गाउँपालिकाको चारवटा वडा जोड्ने (साविकको हाँडीखोला गाविस) रणनीतिकरुपमा महत्वपूर्ण स्थानमा करिब २० करोड रुपैयाँ लागतमा पक्की पुल निर्माण गरिएको हो । स्थानीय लामो समयदेखि पक्की पुल निर्माण नहुँदा वर्षात्को समयमा राप्तीखोला वारपारमा समस्या झेलिरहेका थिए ।
पालिकाले विभिन्न स्थानमा ५ वटा पक्की पुल निर्माणको सुरुवात गरेको भएपनि पहिलो चरणमा समापन भएको तीन वटाको शनिबार उद्घाटन गरिएको छ । नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ र गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पक्की पुलको उद्घाटन गरेका थिए ।
मनहरी–३ र ४ नम्बर वडालाई जोड्न लामिटार र ट्वाङ्ग्रा खोलामा ६ करोड ४९ लाख ६० हजार रुपैयाँ लागतमा ६४.१५ मिटर लम्बाइको तथा ४ र ३ नम्बर वडाको गोलघर र मिलडाँडा जोड्ने ७४.५५ मिटर लम्बाइको पुल ६ करोड ५९ लाख ५० हजार ६३ रुपैयाँलागतमा डबल स्पानको पुल निर्माण गरिएको हो ।
१ र २ नम्बर वडाको पार्ता र च्यापल जोड्ने ट्रिपल स्पानको ९७ मिटर लामो पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँमा निर्माण गरिएको हो । तीनवटै पुल हिराचन/बानियाँ जेभीले निर्माण गरेको हो । तीनवटै पुलको चौडाई ७ मिटर रहेको छ ।
पुलको उद्घाटन गर्दै सांसद बानियाँले रणनीतिकरुपमा महत्वपूर्ण र दीर्घकालिनरुपमा पालिकालाई फाइदा पुग्ने योजना छनौट गरेर काम गर्नूपर्ने औंल्याए । पालिका अध्यक्ष कालाखेतीले निर्माणाधिन अवस्थामा रहेका बाँकी दुईवटा पुल निर्माण कार्य छिट्टै सम्पन्न गर्न निर्माण व्यवसायीलाई आवश्यक सहयोगका साथै दबाब समेत दिइरहेको बताए ।
निर्माणाधिन अवस्थामा रहेको ठाडोखोला पुल ८५ प्रतिशत र हाँडीखोला पुल ६३ प्रतिशत सम्पन्न भइसकेको छ । पुल निर्माण भएका यस क्षेत्र कृषि उत्पादन तरकारी तथा दूधको पकेट क्षेत्र हो ।