अविरल वर्षाका कारण मकवानपुरको पश्चिमी क्षेत्रका ग्रामीण भेगका सडकहरु अवरुद्ध भएका छन् ।
मनहरी -चैनपुर सडकका आपखोल्सीलगायत विभिन्न क्षेत्रमा पहिरो गएकाले राक्सिराङ गाउँपालिकाको केन्द्र रहेको चैनपुरमा सवारी साधनहरु मंगलबारदेखि आवतजावत गर्न सकेका छैनन् ।
'माथिबाट पहिरो झरेर सडक अवरुद्ध भएकाले मनहरी-चैनपुर सडकमा सवारी साधन चल्ने सकेका छैनन्,' गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने, 'मनहरीबाट गाउँपालिका केन्द्र चैनपुर हिडेर पुग्नपनि पहिरोले गर्दा समस्या छ ।’
गाउँपालिकाको केन्द्र चैनपुरमा पुग्ने अर्को सडक मार्ग सिम्पानी-सरिखेत सडकको विभिन्न भागमा पनि पहिरो गएर अवरुद्ध भएको छ । पानी परिरहेकाले दुवै सडक मार्गमा माथिबाट लेदो झरिरहने भएकाले पैदल हिडन समस्या भएको अध्यक्ष मल्लले बताए ।
पानी पर्न रोकियो भने पहिरो हटाएर छिट्टै नै सडक संचालनमा ल्याउने उनको भनाइ छ । 'पानी रोकिएन भने केही दिन सडक अवरुद्ध भइरहने अवस्था छ,' गाउँपालिकाका एक कर्मचारीले भने, 'पानी परिरहेको अवस्थामा पहिरो पन्छाउन जोखिमपूर्ण हुन्छ, माथिबाट पहिरो खस्ने डर हुन्छ ।’