२०८२ चैत्र २९, आईतबार    

१२० बिघामा गाँजा र ३९ बिघामा लगाइएको अफिम फडानी

२०८२ बैशाख ३०, मंगलबार १२:५८ बजे

मकवानपुर प्रहरीले चालू आर्थिक वर्षको करिब दश महिनाको अवधिमा १२० बिघा ४ कठ्ठामा लगाइएको गाँजा र ३९ बिघा जमिनमा लगाइएको अफिम खेती नष्ट गरेको छ ।

मकवानपुर प्रहरीले प्रत्येक वर्ष जिल्लाको राक्सिराङ, कैलाश र मनहरीको विभिन्न स्थानमा पुगेर गाँजा तथा अफिम खेती फाडानी गर्ने अभियान सञ्चालन गर्ने गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को दश महिनाको तुलनामा यो वर्ष निकै कम फडानी भएको पाइएको छ ।

अघिल्लो वर्ष २७८ बिघा ३ कठ्ठाको गाँजा र १४७ बिघा ५ कठ्ठा १५ धुर जमिनको अफिम खेती फडानी गरिएको थियो । यो तथ्यांकलाई हेर्दा अघिल्लो वर्षको तुलनामा यो वर्ष करिब आधा मात्रै क्षेत्रफलको लागुऔषध खेती फाडानी गरेको पाइएको हो ।

अघिल्लो वर्ष गाँजा तथा अफिम खेती फडानीका लागि ५९६ जना प्रहरी कर्मचारी परिचालित हुँदा यो वर्ष ३२० जना मात्रै प्रहरी परिचालन भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले यो वर्ष १२० बिघा ४ कट्ठा जमिनको गाँजा र ३९ बिघा जमिनको अफिम खेती फडानी गरिएको जानकारी दिए ।

‘हामीले यो वर्ष फडानी गरेको यति नै हो । अघिल्लो आर्थिक वर्षको तथ्यांक भन्दा यो करिब आधा नै कम हो’, अर्यालले देखेको र भेटेको जति गाँजा र अफिम खेती नष्ट गरिएको बताए । ‘यो वर्षको लागि फडानी अभियान सकिसकेको छ ।’

प्रहरीले प्रत्येक वर्ष अवैध लागुऔषध खेती फडानी तथा नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरे पनि खेती गर्ने क्रममा भने कुनै कमी नआएको बताए । अझ गाँजाको तुलनामा अफिम खेती गर्ने बढेको उनले बताए । ‘स्थानीयसँग बुझ्दा गाँजा भन्दा अफिम लगाउनेको संख्या बढेको छ । प्रहरीले प्रत्येक वर्ष गाउँगाउँ पुगेर लागुऔषध खेती फाँड्ने अभियान चलाए पनि स्थानीयले खेती गर्न छोडेका छैनन्’, जिल्ला प्रहरी प्रवक्ता अर्यालले भने ।

स्थानीय र प्रदेश सरकारले समेत गाँजा तथा अफिम खेतीको विकल्प दिन नसकेको स्थानीयको आरोप रहेको छ । मकवानपुर लागुऔषध उत्पादन, सेवन र ओसारपसारमा देशमै नाम कहलिएको छ । पछिल्लो समय प्रहरीले दैनिकजसो लागुऔषधसहित मानिसलाई नियन्त्रणमा लिइरहेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म मात्रै मकवानपुर प्रहरीले लागुऔषधसहित १९३ जनालाई नियन्त्रणमा लिइसकेको छ ।

मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा बढी गाँजा तथा अफिम खेती हुने गरेको छ । मनहरी गाउँपालिका, थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाको पहाडी क्षेत्रमा भू–भागमा पनि गाँजा खेती हुने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।