२०८१ बैशाख २१, शुक्रबार    

राष्ट्रिय भेट्रान्स कपमा चार टोली विजयी

२०७९ पौष २०, बुधबार १७:५१ बजे

हेटौंडामा जारी राष्ट्रिय भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगितामा बुधबार ४ वटा खेल सम्पन्न भएका छन् ।

पहिलो खेलमा नागस्वती भेट्रान्सलाई हराउँदै एक्स भेट्रान्स पोखरा विजयी भएको छ । निर्धारित समयको खेल गोलरहित गोलरहित बराबरी भएपछि टाइब्रेकरमा एक्स ३–२ गोलले विजयी भएको हो । खेलमा एक्स भेट्रान्सका दीपेन्द्र शाही म्यान अफ द म्याच भए । वीरगञ्ज भेट्रान्स पर्सालाई टाइब्रेकरमा हराउँदै हेटौंडा भेट्रान्स सुपर विजयी भएको छ । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

हेटौंडाले वीरगञ्जलाई ५–४ गोल अन्तरले हराएको हो । खेलमा वीरगञ्जका ऋतुकुमार शाक्य म्यान अफ द म्याच भए । बुधबारै भएको खेलमा बीरगञ्ज सिटीलाई २–० ले हराउँदै एमएमसी काठमाडौं विजयी भएको छ । एमसीसीको तर्फबाट प्रकाश राना मगर र शिशिरबहादुर हमालले गोल गरेका हुन् । खेलमा प्रकाश राना मगर म्यान अफ द म्याच भए ।

अभिषेक चर्च नवलपरासीलाई टाइब्रेकरमा हराउँदै बानेश्वर भेट्रान्स अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारित समय दुवै टोलीले एक÷एक गोलको बराबरी खेलेपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । खेलमा बानेश्वरका नारायण कार्की र अभिषेक चर्चका गणेश श्रेष्ठले गोल गरेका थिए । टाइब्रकेरमा बानेश्वर ७–६ गोल अन्तरले विजयी भएको हो ।

बिहीबारबाट दोस्रो चरणको खेल सुरु हुने आयोजकले जानकारी दिएको छ ।