वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आइतबार प्रदेशसभामा विश्वासको मत लिँदैछन । हेटौंडा–१० स्थित प्रदेशसभामा दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मतको सामना गर्न लागेका हुन् ।
संघमा नेपाली कांग्रेस–नेकपा एमालेवीचमा सत्ता सहकार्य भएसँगै जम्कट्टेल नेतृत्वको सरकार धरापमा परेको हो । एमाले प्रदेश सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सामना गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।
एमाले सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका उनको पक्षमा केवल ३० सांसद् मात्रै रहेका छन् । ११० सदस्यीय प्रदेशसभामा जम्कट्टेलकै पार्टी नेकपा माओवादी केन्द्रको २१, नेकपा (एकीकृत समाजवादी)को ७ र हाम्रो नेपाली पार्टीको २ गरी ३० जना सांसद्को साथ रहेको हो ।
३७ सांसद रहेको कांग्रेस, २७ सांसद रहेको एमाले र १३ सांसद् रहेको राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने औपचारिक निर्णय नै गरिसकेको छ । वाग्मती प्रदेशमा कांग्रेस र एमालेको मात्रै मिल्दा सहजै बहुमत पुग्ने अवस्था रहेको छ । सरकार गठनका लागि ५६ सांसद् आवश्यक पर्नेमा यी दुई दलको ६४ सांसद् रहेको छ ।
विश्वासको मत गुमाएसँगै जम्कट्टेल मुख्यमन्त्रीको कुर्सीबाट प्रमुख प्रतिपक्षी दलको नेतामा पुग्नेछन् । संघमा भएको सहमति अनुसार वाग्मतीमा पहिलो पटक कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा नयाँ सरकार बन्ने बुझिएको छ ।
असार २४ गते एमालेका ५ जना मन्त्रीले राजीनामा बुझाएर सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका जम्कट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेश सभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए ।
२०७९ पुस २५ गते प्रदेश सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्री जम्कट्टेलले ३ पटक विश्वासको मत लिएर सरकार जोगाएपनि नयाँ समिकरण बनेसँगै यसपटक भने मुख्यमन्त्री पद गुमाउने लगभग पक्का रहेको छ ।