२०८१ जेठ ४, शुक्रबार    

वडाध्यक्षले आफूखुसी समिति बनाएपछि लफडा

२०७८ चैत्र १६, बुधबार १६:५० बजे

हेटौंडा१४ का वडाध्यक्ष दीपक खड्काले वडामा परेका योजनाहरु कार्यान्यवन गराउनको लागि आफूखुसी उपभोक्ता समिति बनाएको भन्दै स्थानीयले विरोध गरेका छन् । वागमती प्रदेश सरकारले केही समयअघि मात्रै स्वीकृत गरेको बजेट कार्यान्वयन गर्न स्थानीय लाभग्राही उपभोक्ताहरुसँग छलफल नै नगरी निश्चित मान्छेहरु भेला गरेर समिति बनाएको भन्दै बुधबार स्थानीयहरुले वडा कार्यालाय घेराउ गरेका छन् ।


आफ्नो टोलको लागि छुट्याएको बजेट कार्यान्वयन गराउन उपभोक्ता समिति गठन गर्ने उद्देश्यले वडा कार्यालयमा जाँदा वडाध्यक्षले आफूहरुले समिति गठन गरी सम्झौता गर्न पठाइसकेको बताएपछि स्थानीयहरु आक्रोशित बनेका थिए । टोल भन्दा बाहिरको व्यक्तिहरुको नाम राखेर समिति गठन गरिएको र उनीहरुको उपस्थिति बिनै निर्णय गरी पठाइएको नेपाली कांग्रेस हेटौंडा–१४ का वडा सभापति मनोज थिङको दावी छ ।

‘प्रदेश सरकारले हालेको बजेट कार्यान्वयन गर्ने क्रममा वडाध्यक्षले टोलभन्दा बाहिरको मानिसहरुको नाम आफूखुसी राखेर पठाएको पाइयो । छलफल र भेला बिनै उपभोक्ता समिति गठन गर्नु अवैधानिक काम हो । यो सच्याउनुपर्छ ।’ वडा सभापति थिङले भने । वडाध्यक्ष खड्काले प्रदेशबाट हालिएको विभिन्न ६ वटा योजना कार्यान्वयन गराउन उपभोक्ता समिति गठन गरी कार्यान्वयनको लागि सिफारिस गरिसकिएको पाइएको स्थानीयले बताएका छन् । सर्वसहमतिबाट उपभोक्ता समिति गठन नभए प्रभावकारी रुपमा योजना कार्यान्वयन हुन नसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।