२०८१ बैशाख १७, सोमबार    

ज्योतिरत्न बज्राचार्य भन्छन् : हेटौंडालाई ‘सहरी मार्ग’ घोषणा गरौं

२०८० भाद्र २३, शनिबार १५:११ बजे

हेटौंडाका व्यवसायी एवम् समाजसेवी ज्योतिरत्न बज्राचार्यले सडक विस्तारको बहानमा हेटौंडाको अस्तित्वलाई संकटमा पार्न नहुने बताएका छन् ।

शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बज्राचार्यले हेटौंडा बजार क्षेत्रमा रहेका चारवटै राजमार्गलाई २५ मिटर फराकिलो बनाउँदा ऐतिहासिक महत्व बोकेको हेटौंडाको अस्तित्व संकटमा पर्ने दावी गरेका हुन् । उनले पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा राप्तीरोड र मेनरोड, कान्तिलोकपथ र धरान–चतरा विस्तार गर्दा कान्तिराजपथ तथा त्रिभुवनराज पथ विस्तार गर्दा पिप्लबोट रोड विस्तारहुने बताए ।

‘सडक फराकिलो पार्नुपर्छ तर, बजारबाट हाइवे जानुहुँदैन ।’, सुनचाँदी व्यवसायी संघ वाग्मती प्रदेश अध्यक्ष समेत रहेका उनले अब समयमै बैकल्पिक मार्गको निर्माण गरेर बजार क्षेत्रको सडकलाई ‘सहरी मार्ग’ बनाउने पर्ने बताए ।

उनले हेटौंडा बजार क्षेत्रको सडक दायाँबायाँ विनामुआब्जा १६/१६ मिटर विस्तार गरी बाइपास सडक ३२/३२ मिटरको बनाउन जरुरी रहेको बताए । उनले वीरगञ्ज र नारायणगढमा समेत सडक बाइपास गरिएको र सहरी मार्ग पनि बनाइको स्मरण गरे ।

उनले हेटौंडा बजार क्षेत्र विस्तार गर्दा राज्यले दिनुपर्ने क्षतिपूर्ति र मुआब्जाभन्दा बाइपास सडक निर्माण गर्दा आर्थिक भार कम पर्ने दावी गरे ।