२०८१ बैशाख १३, बिहीबार    

भिजेका मतपत्रमा मतदान गर्नुपरेको मतदाताको गुनासो

२०७९ मंसिर ४, आईतबार ०९:११ बजे

खुल्ला चौरमा राखिएका भिजेका मतपत्रमा यहा मतदान गराइएको मतदाताले गुनासो गरेका छन् । कर्मचारीले दिने मतपत्र लगेर स्वस्तिक छाप लगाइने टेबुल शीतले भिजेका कारण मतपत्र पनि भिजेको र मसी लत्पतिएको पाइएको मतदाताले बताएका हुन् ।

स्वस्तिक छाप लगाउने टेबुल र मतपेटिका शनिबार दिउँसैबाट रातभरि खुल्ला चौरमा राखिएका कारण शीतले भिजेको हो । ‘मतपत्र राख्ने टेबुल पुछ्ने कपडा पनि छैन । टेबुल शीतले भिजेर पानी पानी छ, त्यसैमा भोट हालियो,’ हेटौंडाका मतदाताले बताए ।

मतपत्र राख्ने टेबुल भिजेको छ भनेर जानकारी गराउँदा कर्मचारीले ‘केही हुन्न चाँडो भोट खसालेर निस्कनुस्’ भनेर हप्काएको उनले सुनाए । निर्वाचन कार्यालयले कर्मचारीको कमि–कमजोरीका कारण त्यस्तो भएको र सुधार्न लगाइएको जानकारी दियो ।

शीत नपुछेरै मतदान गराइएपछि मतदाताले विरोधसमेत गरेका छन् । ४ वटै मतपत्र लिइसकेपछि ल्याप्चे लगाउने र हातमा लागेको मसीसमेत पुछ्ने व्यवस्था नभएका कारण औंलामा लागेको मसी मतपत्रमा परेको शिव उच्च माविकी मतदाता अपुपा भुसालले सुनाइन् । निर्वाचन ऐनमा चुनाव चिह्नबाहेक अन्यत्र मसी वा संकेत देखिएमा त्यो मतपत्र बदर हुने व्यवस्था छ ।