हेटौंडा/ हेटौंडा बजार क्षेत्रको फुटपाथमा सवारी पार्किङ जथाभावीरुपमा हुँदा पैदल यात्री समस्या पर्ने गरेका छन् ।
विशेष गरी हेटौंडाको बुद्धचोक, सीमाचोक र कान्तिराजपथको दायाँबायाँ क्षेत्रको फुटपाथमा अस्तव्यस्तरुपमा पार्किङ गर्दा पैदल यात्रुहरु समस्यामा परेका हुन् । हेटौंडामा व्यवस्थित पार्किङ स्थल निर्माण गर्न हेटौंडा उपमहानगरपालिका, प्रदेश र संघीय सरकारको चासो नहुँदा पैदल यात्रुलाई मात्र नभएर त्यसक्षेत्रका व्यवसायीलाई समेत समस्या सिर्जना भएको छ ।
हेटौंडाको बुद्धचोक र सीमाचोक क्षेत्रमा पछिल्लो समय दिनहुँ आन्दोलनहरु हुने गरेका छन् । जसको कारणले गर्दा पनि बजार क्षेत्र केही समय अस्तव्यस्त हुन्छ । उक्त समयमा हतारोमा यात्रा गर्ने क्रममा फुटपाथबाटै मोटरसाइकल चलाउन थालिएको छ । जसको कारण पनि यात्रुहरुलाई समस्या परिरहेको छ । ‘फुटपाथमा हिँड्दा नै मोटर साइकलले ठक्कर दियो ।’, बजारमा किनमेल गर्न आएकी हेटौंडा–११ नवलपुरकी पूजा अधिकारीले भनिन् । उनका अनुसार फलफूल किनेर हिँड्न लाग्दा मोटर साइकलले ठक्कर दिएको हो । उनको अवस्था सामान्य छ । मोटरसाइकल भने फरार भयो ।
हेटौंडा बजार क्षेत्र साँघुरोहुँदा हिजोआज दैनिक सवारी जाम हुन थालेको छ । जसको कारणले गर्दा पनि पैदल यात्रुका लागि छुट्याइएको फुटपाथमा यात्रा गर्न समस्या भइरहेको छ । ट्राफिक, नगर प्रहरी र नेपाल प्रहरीले बजार क्षेत्रको पार्किङलाई व्यवस्थित गर्न खोजेपनि कतिपय सवारी चालकहरुले जथाभावी सवारी रोकेर राखिदिँदा समस्या भएको उनीहरुको गुनासो छ ।
हेटौंडा बजार क्षेत्रको यस समस्या समाधान गर्न कुनै पनि सरोकारवालपक्षको ध्यान पुग्न सकेको छैन ।