२०८१ मंसिर २९, शनिबार    

मुख्यमन्त्री लामाले पाए विश्वासको मत

२०८१ श्रावण १५, मंगलबार १७:४४ बजे

वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । 

मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी लामाले राखेको प्रस्तावको पक्षमा ६४ मत, विपक्षमा ३५ मत र ३ जना तटस्थ रहेका थिए । मंगलबारको मतदानमा १ सय ३ उपस्थित थिए । 

कुल १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ मत आवश्यक पर्छ । मुख्यमन्त्री लामालाई कांग्रेसका ३७ र एमालेका २७ जना प्रदेशसभा सदस्यले मत दिएका छन् । मुख्यमन्त्री लामाको विपक्षमा नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा (एस)का सांसदले मत दिएका थिए ।

लामा वाग्मती प्रदेशको पाँचौं मुख्यमन्त्रीको रुपमा यही साउन ८ गते नियुक्त भएका थिए । एमाले र कांग्रेसको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका लामाले साउन १२ मा सरकारलाई पूर्णता दिएका थिए ।