२०८१ बैशाख २१, शुक्रबार    

विश्वकप फुटबलमा नयाँ भीएआर प्रविधि प्रयोग हुँदै, अफसाइड भए स्वतः पत्ता लगाउने

२०७९ असार १९, आईतबार १६:३८ बजे

लामो समयदेखि परीक्षणकै क्रममा रहेको भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि आउँदो विश्वकप फुटबल २०२२ मा प्रयोग गर्न अन्तत: फिफाले अनुमति दिएको छ ।

सेमी-अटोमेटेड अफसाइड टेक्नोलोजी (एसएओटी) भीएआर प्रविधिको अपग्रेडेड भर्सन हो । यो प्रविधिले फिफाले पहिलो पटक सन् २०१८ मा प्रयोगमा ल्याएको भीएआरको पुरानो भर्सनलाई विस्थापित गर्नेछ । यो नयाँ प्रविधिमा रंगशालामा १२ वटा क्यामेरा प्रयोग गरिनेछ, जसले विभिन्न २९ डेटा पोइन्टमार्फत खेलाडीको पोजिसन र बललाई ट्रयाक गर्नेछ ।

 सेमी-अटोमेटिक अफसाइड टेक्नोलोजीलाई लिम्ब ट्रयाकिङ पनि भनिन्छ । यसबाट खेलाडीहरू अफसाइड भए/नभएको पत्ता लगाउन सकिन्छ । फिफाका अनुसार स्टेडियमको छतमा क्यामेराहरू सेटअप गरिनेछ, जसले भिडिओबाट लिम्ब डेटा निकालेर अपरेटिङ रुममा बसेका अधिकारीहरूलाई खेलाडी अफसाइड पोजिसनमा भएको जानकारी तत्कालै उपलब्ध गराउनेछ ।
 

यो प्रविधिको प्रयोगसँगै अधिकारीहरूले खेलसम्बन्धी निर्णयहरू छिटो र छरितो रुपमा लिन सक्षम हुने फिफाको विश्वास छ । यो प्रविधिले २५ देखि ७० सेकेन्डभित्र अफसाइड भए/नभएको पत्ता लगाउन सक्ने बताइएको छ ।