२०८१ जेठ ४, शुक्रबार    

जेठ ४ मा स्थानीय तहको निर्वाचन, आयोगले माग्यो १२ अर्ब

२०७८ माघ १८, मंगलबार १८:०७ बजे

काठमाण्डौ/ सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा ०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए भने आयोगले पनि त्यही मितिमा निर्वाचन गर्न सकिने परामर्श दिएको थियो ।

छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका छन् । ‘सरकार र आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बन्यो । प्रधानमन्त्रीज्यूले तयारी अघि बढाउन भन्नुभएको छ, अब छिट्टै सरकारले निर्वाचनको मिति घोषणा गर्छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ खर्च हुने प्रस्ताव गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको छलफलमा आयोगका पदाधिकारीहरूले सरकारसँग ७५३ वटै स्थानीय तहको निर्वाचन एकै चरणमा गर्दा करिब १२ अर्ब रुपैयाँ खर्च हुने बताएका हुन् ।

निर्वाचनमा खटिने जनशक्तिको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा धेरै बजेट खर्च हुने आयोगको भनाइ छ । ०७४ सालमा तीन चरणमा निर्वाचन गर्दा ८ अर्बभन्दा बढी रकम खर्च भएको आयोगले जनाएको छ ।