भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् सत्ताच्युत भएसँगै नेकपा एमाले अहिले सडकमा आइपुगेको छ । तत्कालिन प्रतिनिधिसभा विघटन गरी देशमा फागुन २१ गतेका लागि संसदीय निर्वाचनको मिति तय भइसकेको छ । जसको विरोधस्वरु संसद पुनर्स्थापनाको माग राखी नेकपा एमालेले देशभर वडा, क्षेत्रहुँदै शनिबार जिल्लास्तरीय जनप्रदर्शन समेत गरिसकेको छ ।
तर, पछिल्लो समय राजनीतिक ‘मोमेन्ट’मा नदेखिएकोभन्दै नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको विषयमा विभिन्न कोणबाट टिप्पणी भइरहेको छ । कतिपयले उनले जेनजी आन्दोलनलाई समर्थन गरी पार्टी नै परित्याग गरिसकेको समेत भन्न भ्याइसकेका छन् । तर, वास्तविकता फरक रहेको छ । पार्टीको कामका सिलसिलामा ब्रेन ह्यामरेज भएपछि उपचारमा व्यस्त रहेका पोखरेल अहिले पनि स्वास्थ्य लाभका लागि अस्पताल धाइरहेका छन् ।
उनको आउँदो मंसिर १५ गते पित्तथैलीमा रहेको पत्थरी समेत अप्रेशन गर्नुपर्ने भएको छ । ‘अहिले म काठमाडौंमा छु । मेरो स्वास्थ्य अवस्था ठिक छैन । बीर अस्पतालमा अप्रेशनको मिति कुर्दैछु । ब्रेन ह्यामरेज भएपछि मलाई अहिले पनि रिंगटा लागिरहन्छ ।’, पोखरेलले आफ्नो पत्नी विजयालक्ष्मी शर्मा पनि विरामी रहेको बताए । ‘श्रीमती पनि विरामी छिन् । उनको मंसिर १ गते प्यानक्रियाजको अप्रेशन तय भएको छ ।’
पोखरेलले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएको कारण राजनीतिक गतिविधिमा सहभागी हुन नसकेको बताए । ‘स्वास्थ्य नै ठिक छैन । कसरी सहभागी हुनु ।’, असार २० गते जिल्ला कमिटीको बैठक राखेर आफूले आफ्नो स्वास्थ्य अवस्थाको विषयमा जिल्लाका सबै नेताहरुलाई जानकारी गराएको उनले बताए । ‘पार्टीको कामको सिलसिलामा मेरो ब्रेन ह्यामरेज भयो । अहिले मेरो विषयमा अनावश्यक टिकाटिप्पणी भएकोको सुन्दा पार्टीभित्र मानवीय संवेदना हराउँदै गएको महसुस भइरहेको छ ।’, पोखरेलले आफू लामो समय उठेर बस्न समेत नसक्ने अवस्थामा रहेको बताए । ‘मानिस शारीरिकरुपमा कमजोहुँदै गएपछि अनावश्यक र गलत टिकाटिप्पणी हुने रैछ । जीवनको अधिकांश समय पार्टी निर्माण खर्चेको थिएँ ।’, उनले विगतलाई सम्झिँए ।
२०३६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्क्र विद्यार्थी युनियनबाट सत्रिय राजनीतिमा प्रवेश गरेका पोखरेल गतवर्ष नेकपा एमाले मकवानपुरको अध्यक्षमा निर्वाचित भएका थिए । पार्टी विभाजनपश्चात् माधव नेपाल नेतृत्वको नेकपा (एस) को जिल्ला अध्यक्ष बनेका उनी स्थानीय तहको निर्वाचनको समयमा एमाले फर्किएका थिए । एमाले फर्किएलगत्तै भएको जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा उनी निर्वाचित भएका थिए । पार्टीभित्रको आन्तरिक काम र कार्यकर्ता व्यवस्थापनमा पोखरेललाई अब्बल मानिन्छ ।
पोखरेल आफ्नो उपचारमा व्यस्तहुँदा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले अहिले पार्टीको गतिविधि हाँकिरहेका छन् । भीमफेदी गाउँपालिकाका अध्यक्ष समेत रहेका युवा नेता लामा अहिले जिल्लाको हरेक राजनीतिक गतिविधिमा सक्रियतापूर्वक सहभागीहुँदै आफ्नो दरिलो उपस्थिति जनाइरहेका छन् ।