२०८१ बैशाख ७, शुक्रबार    

लागूऔषध गाँजासहित वडा अध्यक्ष आफ्नै घरबाट पक्राउ

२०८० बैशाख १८, सोमबार २१:०५ बजे

मकवानपुरको थाहा नगरपालिका- ७ का वडा अध्यक्ष शिवराज थिङ आफ्नै घरबाट लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।

आफ्नै घरबाट लागूऔषध गाँजा बिक्री वितरण गरेको भन्ने सूचनाका आधारमा प्रहरीले आग्रा घर भएका वडा अध्यक्ष शिवराजसँगै उनका बाबु र छिमेकीलाई २०२ किलो गाँजासहित पक्राउ गरेको छ ।

सोमबार बिहान लागूऔषध नियन्त्रण व्युरो कोटेश्वर काठमाडौं र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडा अध्यक्ष थिङसहित उनका बाबु ७६ वर्षीय भीमबहादुर थिङ र छिमेकी ६७ वर्षीय ईन्द्रबहादुर थिङ रहेका छन् ।

शिवराजको घरबाट ३० वटा पोकामा २७ किलो गाँजा र ईन्द्रबहादुरको घरबाट १० वटा बोरामा १७५ किलो गरी २०२ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय पालुङ ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।