२०८१ बैशाख १५, शनिबार    

कोरा साइकल र्‍यालीको तयारी पूरा, २ सय सहभागी हुने

२०७९ श्रावण २०, शुक्रबार १७:१६ बजे

हेटौंडा राइडर्स क्लबको आयोजनामा शनिबार हेटौंडामा हुने कोरा साइकल र्‍यालीको तयारी पूरा भएको छ ।

आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै हेटौंडा कोरा साइकल र्‍यालीको तयारी पूरा भएको जानकारी दिएको छ । क्लब अध्यक्ष विकास ताम्राकारका अनुसार साइकल र्‍यालीमा करिब दुई सयजना सहभागी हुनेछन् । विहान ७ बजे हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरबाट सुरु हुने साइकल र्‍यालीले करिब ५० किलोमिटरको यात्रा पूरा गर्नेछन् ।

उनीहरुले हेटौंडा क्षेत्रका विभिन्न मठमन्दिर तथा पर्यकीय स्थलको परिक्रमा गर्नेछन् । भुटनदेवी मन्दिरबाट हर्नामाडीस्थित गुम्बाडाँडा पुगेर हटियाहुँदै हेटौंडा मुख्यबजारस्थित बुद्धचोकमा आएर साइकल र्‍याली टुंगिनेछ । आयोजकका अनुसज्ञार करिब ३ लाख ७० हजार रुपैयाँ खर्च अनुमान गरिएको छ । कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिका तथा विभिन्न संघसंस्थाबाट आर्थिक सहयोग प्राप्त भएको ताम्राकारले बताए ।

उनका अनुसार कार्यक्रममा काठमाडौं, पोखरा, धरान, बारा, पर्सा, रौतहट र चितवनलगायत जिल्लाबाट साइकल यात्री सहभागी हुनेछन् । साइकल यात्रामा सहभागीहरुलाई मनोरञ्जनका लागि हेटौंडाको अनविज्ञ व्याण्डबाट सांगीतिक प्रस्तुती दिने कार्यक्रम रहेको छ । कार्यक्रममा १६ वर्षमाथिका मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ ।