२०८१ बैशाख २१, शुक्रबार    

कैलाश ७ मा क्षितिजको समर्थन आधिकारिक उम्मेदवार उदासलाई

२०७९ बैशाख २५, आईतबार १०:०५ बजे

मकवानपुरको कैलाश गाउँपालिकाको ७ नम्बर वडामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका युवा नेता चन्द्रलाल थिङ क्षितिजले कांग्रेसका आधिकारिक उम्मेदवार उदास लामा ब्लोनलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

आइतबार कांग्रेसका नेताहरुसहित भएको छलफलका बीच क्षितिजले आफ्नो उम्मेदवारी फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई सघाउने घोषणा गरेका हुन् । कांग्रेस निकटको खेलकुद संघका कैलाश गाउँपालिका संयोजक समेत रहेका युवा नेता थिङले आजैबाट उदास लामा र प्यानललाई जिताउन लागिपर्ने बताए । "टिकट वितरणको क्रममा असन्तुष्टि जनाउँदै मैले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको थिएँ । हामीबीच केही पनि नराम्रो थिएन र छैन पनि । आज पार्टीका आधिकारिक उम्मेदवार तथा कांग्रेसका नेताहरुसंग हामीले सहमति गरेका छौं । म जिम्मेवार पदमा रहेको व्यक्तिले पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन लाग्नु मेरो दायित्व हो", थिङले भने, "उदास लामा र उनको प्यानलको जित नै वडाबासीको हित हुनेछ ।" आफ्नो वडामा कांग्रेसका आधिकारिक उम्मेदवारलाई कसैले हराउन नसक्ने उनको दावी थियो ।

वडाध्यक्षका उम्मेदवार लामाले युवा नेता क्षितिजको योजनालाई समेत समेट्दै अघि बढ्ने प्रतिबद्धता जनाए । "चुनावी अभियानको अन्तिममा आएर भएपनि स्वतन्त्र उम्मेदवारी दिनुभएका नेताले आफ्नो उम्मेदवारी फिर्ता लिँदै म र मेरो टिमलाई सहयोग गर्नुभएको छ । यो कार्यका लागि पहल गर्ने सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु", उम्मेदवार लामाले भने । ५ बर्षमा केही राम्रा काम गरेको दावी गर्दै उनले जितेमा आफ्ना अधुरा योजना पूरा गर्न लागिपर्ने प्रतिबद्धता जनाए ।