झरीवर्षाको समयमा हुन लागेको मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको विषयमा सहभागी क्लवले असन्तुष्टि जनाइरहेका छन् ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भदौ १४ गतेबाट २८ वटा क्लवलाई ४ वटा समूहमा विभाजन गरेर सुरु गर्न लागिएको लिगको विषयमा अहिले जिल्लाभर विवाद भइरहेको छ । खेल तालिका अनुसार प्रत्येक समूहमा ७ वटा क्लव राखिएको छ ।
समूहको पहिलो, दोस्रो र तेस्रो हुने क्लव ए डिभिजन, चौथो र पाँचौ हुने क्लव वी तथा छैठौं र सातौं हुने सी डिभिजन क्लवको रुपमा रहने निर्णय गरिएको छ । अधिकांश क्लवले ७ वटा समूह बनाएर लिग चरणमा तीनवटा खेल खेल्नुपर्ने माग गरेपनि केही क्लवको बलमिच्याइाका कारण सहभागी क्लवले कम्तिमा ६ वटा खेल खेल्नुपर्ने अवस्था निर्माण गरिएको छ । यस्तै कुनै क्लवले गौरिटार रंगशालामा मात्र खेल्नुपर्ने र कुनैले सिमलटार मैदानमा खेल्नुपर्ने टाइसिट बनाइएको छ ।
‘कुनै क्लवले अधिकांश खेल गौरिटार पुगेर खेल्नुपर्ने टाइसिट छ । कुनैले सबै खेल दिउँसो १ बजे खेल्नेपर्ने छ । क्लवका पदाधिकारीको क्लवलाई केही सहज हुने गरी खेल तालिका बनाएको देखिएको छ’, सहभागी एक क्लवका अध्यक्षले भने, ‘६ वटा खेल खेल्दा एउटा क्लवले कम्तिमा २ लाख रुपैयाा खर्च गरेको हुन्छ ।
पुरस्कार राशी एकलाख तोकिएको छ । त्यसमा पनि २५ प्रतिशत कर लाग्ने भनिएको छ । धेरै क्लवको असन्तुष्टि रहेपनि ‘भोटिङ राइट्स’ को विषयका कारण कोही बोल्न सकेका छैनन् ।’
झरी वर्षाका कारण क्लवले धेरै मार व्यहोर्नुपर्ने अवस्थामा लिग हुन लागेको सहभागी क्लवको गुनासो छ । केही महिना अगाडि सम्पन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको हिसावकिताब सार्वजनिक गर्न नसकेर सर्वत्र आलोचित भएको संघ अहिले ॅगलत निर्णय’ का कारण पुनः विवादमा तानिएको हो ।