मकवानपुरगढी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१-०८२ को आय तथा व्ययको अनुमान (बजेट) खुम्चिएको छ ।
आन्तरिक आम्दानीको स्रोतलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न नसक्दा गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा झण्डै ५ करोड घटाएर बजेट ल्याउने तयारी गरेको हो ।
गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले आगामी आर्थिक वर्षको नीति कार्यक्रम सार्वजनिक गर्दै ५७ करोड ९५ लाख ८० हजार रुपैयाँको बजेट पेश गरेकी हुन् ।
चालु आर्थिक वर्षमा मकवानपुरगढीले ६२ करोड २ लाख ५६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
आगामी आर्थिक वर्षको लागि संघीय सरकार वित्तीय समानिकरण अनुदान ९ करोड ८२ लाख र प्रदेश सरकार वित्तीय समानिकरण अनुदान ९६ लाख गरी जम्मा वित्तीय अनुदान १० करोड ७८ लाख रुपैयाँ प्राप्त भएको छ ।
जबकी, चालु आर्थिक वर्षमा संघीय सरकार वित्तीय समानिकरण अनुदान ९ करोड ७४ लाख र प्रदेश सरकार वित्तीय समानिकरण अनुदान ८६ लाख रुपैयाँ गरी जम्मा वित्तीय समानिकरण अनुदान १० करोड ६० लाख रुपैयाँ प्राप्त भएको थियो ।
चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको लागि वित्तीय समानिकरण अनुदान १८ लाख रुपैयाँ बढी प्राप्त भएपनि गाउँपालिकाले आन्तरिक स्रोत व्यवस्थापनमा दीर्घकालिन योजना ल्याउन नसक्दा बजेट खुम्चिएको हो ।
संघीय सरकार सशर्त अनुदान (शिक्षा, स्वास्थ्य, कृषि, पशु, ऊर्जा, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघुउद्यम कार्यक्रम, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण कार्यक्रमसहित) २३ करोड ३४ लाख ७५ हजार, प्रदेश सरकार सशर्त चालु अनुदान २ करोड ३५ लाख अनुमान गरिएको छ । पालिकाले व्ययतर्फ कुल बजेटको पुँजीगततर्फ ३० करोड ८ लाख २ हजार १९ रुपैयाँ र चालुतर्फ २७ करोड ८७ लाख ७७ हजार ९ सय ८० रुपैयाँ रहेको छ ।
कूल व्यय अनुमानमध्ये आगामी आर्थिक वर्षको लागि कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चअन्तर्गत् ८ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।