मकवानपुरको बकैया गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार्न गर्न काठमाडौँ विश्वविद्यालयसंग सम्झौता गरेको छ । शिक्षाको गुणस्तर सुधारका लागि गाउँपालिकाले आइतबार विश्वविद्यालयसँग सम्झौता गरेको हो ।
केयू बकैया फेलोसिप कार्यक्रम अन्तर्गत शैक्षिक कार्यक्रम कार्यान्वयन गर्नको लागि सम्झौता भएको गाउपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए ।
'शैक्षिक अवस्था कमजोर भएका बकैयाका विद्यालयहरूको शैक्षिक सुधारका लागि विश्वविद्यालयसँग सम्झौता गरेको हो,' उनले भने । गाउँपालिकाकोतर्फबाट अध्यक्ष धर्मराज लामिछाने र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनकोतर्फवाट शिक्षक रिसर्चर केवल खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौता पश्चात् गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत शैक्षिक गुणस्तर सुदृढीकरण एवम् केयूको सहकार्यमा शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रम अन्तर्गत आवश्यकता पहिचान, फेलोसिप कार्यक्रम कार्यान्वयनमा अघि बढ्ने उनको भनाइ छ ।
अध्यक्ष लामिछानेका अनुसार कृषि र शिक्षाको सुधारको लागि पालिकाले प्रयास गरिरहे पनि पर्याप्त भएन । 'गाउँपालिकाको शिक्षाको अवस्था अझै कमजोर भएकाले सुधारको थप प्रयासका लागि विश्वविद्यालयसँग सहकार्य गरेको हो,' उनले भने । उक्त कार्यक्रमले शिक्षकलाई उत्प्रेरित गरि शिक्षाको सुधारमा जोड दिने उनले विश्वास व्यक्त गरे ।