राष्ट्रिय शिक्षा दिवसको अवसरमा वाग्मती प्रदेश सरकारले दशवटा उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरेको छ । ५ सामुदायिक र ५ संस्थागत विद्यालयलाई नगदसहित सरकारले पुरस्कृत गरेको हो ।
शिक्षा विकास निर्देशनालय वाग्मती प्रदेशले छनौट गरेका सामुदायिक तर्फका मेघा माध्यमिक विद्यालय तेखापुखु भक्तपुर, बलम्बु माध्यमिक विद्यालय चन्दागिरि नगरपालिका काठमाडौं, पृथ्वी माध्यमिक विद्यालय विदुर–४ नुवाकोट, तरुण माध्यमिक विद्यालय बालाजु काठमाडौं र श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल काठमाडौंलाई वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्मानित गरेको हो ।
संस्थागत तर्फका ह्विज किड्स इन्टरनेशनल स्कुल बालुवाटार काठमाडौं, रिलायन्स इन्टरनेशनल एकेडेमी बुढानीलकण्ठ काठमाडौं, गोकर्णेश्वर लाइट एकेडेमी गोकर्णेश्वर काठमाडौं, शांकरी स्कुल छाउनी काठमाडौं र माउन्ट ग्लोरी इङ्गिलस बोर्डिङ हाइस्कुल काठमाडौंलाई उत्कृष्ट घोषणा गरिएको थियो । उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालयहरूलाई क्रमशः १ लाख रुपैयाँ, ८० हजार, ७० हजार, ६० हजार र ५० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको थियो ।
शिक्षा दिवसको सन्दर्भमा आयोजित निबन्ध लेखन प्रतियोगिताको प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो । जसमा स्कृति चौलागाई बाँसबारी माध्यमिक विद्यालय काठमाडौं प्रथम, सुमना बुढाथोकी स्याउरी भूमि माध्यमिक विद्यालय शिवपुरी नुवाकोट द्वितीय, अविना कार्की भालेश्वर माध्यमिक विद्यालय पनौती काभ्रे तृतीय भएका थिए । उनीहरूलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
उत्कृष्ट विद्यालय र विद्यार्थीलाई वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले शिक्षाको गुणस्तर वृद्धिमा जोड दिएका थिए । उनले शिक्षाको गुणस्तर सुधार्न अभिभावकले चासो लिनुपर्ने दावी गरेका थिए ।
सामाजिक विकास मन्त्री खड्गीले सामुदायिक विद्यालयको अवस्था सुधारमा प्रदेश सरकारले लगानी बढाउने बताउँदैसरकारको पहलमा मात्र शिक्षा क्षेत्र सुधार सम्भव नरहेकाले सबै सरोकारवाला निकाय गम्भीर रहनुपर्ने बताइन् । सामुदायिक विद्यालयको नतिजा सुधार गर्न शिक्षक तथा अभिभावक र विद्यालय व्यवस्थापन समितिलाई ठोस योजना निर्माण गर्न उनले निर्देशन दिइन् ।