२०८१ बैशाख १३, बिहीबार    

नेविसंघ मकवानपुरमा विवाद

२०७९ फाल्गुन २०, शनिबार १९:३७ बजे

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी (नेवि) संघ मकवानपुरमा विवाद भएको छ । संघ अध्यक्षमा केन्द्र र जिल्लाबाट फरक फरक व्यक्ति चयन भएसँगै विवाद सुरु भएको हो । केन्द्रीय समितिले मकवानपुरको अध्यक्षमा भिषण ठकुरी नियुक्त गरेको छ । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले ठकुरीलाई जिल्ला अध्यक्षमा मनोनित गरेका हुन् ।

मकवानपुरमा अध्यक्ष पद रिक्त भएकोले र ३२ वर्ष उमेर हद पनि आकर्षित भएकोले नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ । नेवि संघ मकवानपुर अध्यक्षको जिम्मेवारी पाएका ठुकरीले केन्द्रको निर्देशन बमोजिम काम गर्ने प्रतिबद्धता जनाए ।

‘तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको छ’, उनले भने, ‘जिल्ला अधिवेशनका लागि गर्नुपर्ने तयारीलाई अघि बढाउँदै क्याम्पस तथा क्षेत्रीय अधिवेशनहरु सम्पन्न गर्नेछौं ।’ यसअघिका अध्यक्ष राजु खतिवडाको ३२ बर्षको उमेर हद तथा नेपाली कांग्रेस मकवानपुरको जिल्ला सदस्य पदमा निर्वाचित भएका कारण अध्यक्ष पद रिक्त रहेको थियो ।

यद्यपी केही दिन अघि भएको बैठकले कांग्रेसको वडा सभापति समेत रहेका विद्यार्थी नेता सुवास सापकोटालाई जिल्ला अध्यक्ष बनाएको थियो । बैठकले अध्यक्षसहित अन्य विभिन्न जिम्मेवारी समेत तोकेको थियो । केन्द्रले जिल्ला अध्यक्षको जिम्मेवारी तोकेका ठकुरी मकवानपुरको भीमफेदी गाउँपालिकाका हुन् ।