२०८१ बैशाख २८, शुक्रबार    

वाग्मती हिउँदे अधिवेशन अन्त्यको तयारी

२०७८ चैत्र ९, बुधबार १०:०७ बजे

 वाग्मती प्रदेश सरकारले हिउँदे अधिवेशन अन्त्यको तयारी गरेको छ । प्रमुख प्रतिक्षी नेकपा एमालेका कारण ८१ दिन अवरुद्ध प्रदेशसभा बैठक पुन: सञ्चालन भएपछि दुईवटा बैठक बसेर नवौं अधिवेशन अन्त्यको तयारीमा सरकार जुटेको हो ।

प्रदेश सरकारले वैशाखबाट वर्षे अर्थात बजेट अधिवेशत सञ्चालन गर्ने तयारी समेत गरेको छ । ‘अब बस्ने मन्त्रिपरिषद्को वैठकले अधिवेशन अन्त्य गर्ने सम्भावना रहेको छ । अब बजेटको तयारीमा जुट्ने समय आएको छ । जसको कारणले गर्दा पनि अधिवेशन अन्त्य गर्नेपर्ने भएको हो,’ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले भने ।

अधिवेशन अन्त्यका लागि मंगलबारको प्रदेशसभा बैठकपछि प्रदेशको मन्त्रिपरिषद् बैठक बस्ने तयारी गरिएको थियो । तर, प्राविधिक कारण देखाउँदै अन्तिम समयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बैठक नै बोलाएन । वाग्मती प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा पेस भएका विधेयकहरु दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएर अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरेका हुन् ।