२०८१ बैशाख १६, आईतबार    

मकवानपुरमा धमाधम उम्मेदवार टुंग्याउँदै एमाले

२०७८ चैत्र २४, बिहीबार १८:५८ बजे

नेकपा एमाले मकवानपुरले स्थानीय तह निर्वाचनमा वडा तहका उम्मेदवार धमाधम टुंग्याइरहेको छ ।

वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि एमालेले वडा तहको उम्मेदवरा दुईदिन लगाएर टुंग्याएको हो । जिल्लाको एकसय २ वटै वडाका उम्मेदवार लगभग टुंगिएको जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।

‘अधिकांश वडाका उम्मेदवार सर्वसम्मतरुपमा टुंगिएको छ । केही वडामा निर्वाचन समेत भएका छन् ।’, अध्यक्ष श्रेष्ठका अनुसार केही वडाबाट तीनजनाको नाम सिफारिस भएर आएको बताए । ‘तीन जनाको नाम सिफारिस भएर आएको वडाको हकमा जिल्ला कमिटीको वैठकबाट उम्मेदवार टुंगो लगाउँनेछौं ।’, उनले पार्टीको केन्द्रीय निर्देशन अनुसार वडा तहका आकांक्षीहरुको प्रारम्भिक नामावली संकलन भएको बताए ।

‘वडाबाट एकजना मात्र सिफारिस भएको हकमा उहाँ नै उम्मेदवार हुने निश्चित भयो । बाँकी वडाको उम्मेदवार हामी चैत २९ गतेभित्र चयन गरिसक्छौं ।’, श्रेष्ठले गाउँपालिका अध्यक्षको उम्मेदवार जिल्ला कमिटीबाटै टुंगिने बताए । ‘आगामी जिल्ला कमिटीको वैठकबाट गाउँपालिकाको उम्मेदवार टुंगो लाग्नेछ ।’, श्रेष्ठले नगर र उपमहानगरको उम्मेदवार प्रदेश कमिटीले वैशाख पहिलो हप्ताभित्र टुंग्याउने सम्भावना रहेको छ ।

जिल्ला कमिटीको वैठक चैत २९ गतेका लागि तय भएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लाको दशमध्ये ६ स्थानमा एमाले विजयी भएको थियो ।