२०८१ जेठ ७, सोमबार    

स्थानीय तहको निर्वाचनमा १ करोड ८० लाख मतदाता

२०७८ फाल्गुन १, आईतबार १७:३० बजे

हेटौंडा/ आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि करिब १ करोड ८० लाख मतदाता हुने जनाएको छ ।

आइतबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमार्फत् वैशाख २९ सम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था गरिएको जनाइएको छ । ‘२०७९ साल वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति (कट अफ डेट) मान्दा १ करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ । नेपालको निर्वाचन इतिहासमा पहिलो पटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानी १८ वर्ष उमेर पुग्ने दिनलाई ‘कट अफ डेट’ मान्दा मतदाता नामावलीमा नाम समावेश भएका करिब थप दुई लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चित भएको छ ।’, ’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

आयोगका अनुसार २०७४ को निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता कायम रहेको थियो । जसले ५ वर्षमा २५ लाख नयाँ मतदाता थपिएको देखिन्छ । यो संख्या एक वर्षअघि अर्थात २०७७ पुस ५ गतेलाई कायम गर्दा १ करोड ६२ लाख ४३ हजार ११० जना मतदाता हुने थिए । यसैबीच फागुन ७ गते ‘निर्वाचन दिवस’ मनाउने कार्यक्रम तय गरेको आयोगले जनाएको छ । आयोगले आगामी शनिबार विभिन्न कार्यक्रमको आयोजना गरी निर्वाचन आयोग, ७ वटा प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयमा कार्यक्रम आयोजना हुने जनाएको छ ।