२०८१ बैशाख १७, सोमबार    

बकैयालाई ‘मौरीपालन पकेट क्षेत्र’ बनाइँदै

२०८० फाल्गुन १४, सोमबार १८:३७ बजे

मकवानपुरको पूर्वीक्षेत्रमा रहेको बकैया गाउँपालिकाले पालिकालाई मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारी थालेको छ ।

गाउँपालिकाले एक अध्ययनपछि मौरीपालनको सम्भावना रहेको क्षेत्रका किसानलाई मौरीको घार वितरण गरेको छ । बकैया–११ स्थित आहालेमा १०, ११ र १२ किसानलाई १३३ वटा मौरीको घार वितरण गरेको हो । गाउँपालिकाले यसअघि वडा नम्बर ११ र १२ का किसानलाई लक्षित गरी एक हप्ते मौरीपालन सम्बन्धी तालिम दिएर मौरी घार वितरण गरेको हो ।

पालिकाले सेरेना जातको मौरीपालनको लागि ६ लाख ६५ हजार रुपियाँ बराबरको मौरी घार वितरण गरेको छ । मौरी घार वितरण गर्दै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारको कृषि ग्राम निर्माणलगायतका कृषि क्षेत्रमा बकैया गाउापालिकाले गरेको लगानीको प्रसंशा गरे ।

कार्यक्रममा बकैया गाउापालिकाका अध्यक्ष धर्मराज लमिछानेले बकैयामा मौरीपालनको राम्रो सम्भावना रहेको अध्ययनले देखाएको बताउँदै किसानको आयआर्जन वृद्धिमा सहयोग गर्दै आत्मनिर्भर बनाउन पालिकाले मौरी घार उपलब्ध गराएको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ र कृषि ईन्जिनियर बुद्धिनाथ तिमिल्सिनाले मौरी पालनबाट राम्रो आम्दानी लिन सकिने बताउादै पालिकाले कृषिमा लगानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

कार्यक्रमका बकैया–१० का वडाध्यक्ष कमलाकुमारी वाइबा, ११ का वडाध्यक्ष गोपाल न्यासुर लामा र वडा नम्बर १२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाई, गाउँपालिकाका कृषि अधिकृत सचित रिजाललगायत स्थानीय किसानको उपस्थिति रहेको थियो ।