गत असोजको ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले थाहा नगरपालिकामा एक करोड रुपैयाँभन्दा बढीको तरकारीबाली नष्ट गरेको छ ।
बेमौसमी तरकारी खेतीका लागि पहिचान बनाएको थाहाकाका १ नम्बरदेखि ८ नम्बर वडासम्मका कृषकका तरकारीबाली नष्ट भएको हो । तरकारी खेतीमा बाढी र पहिरोले थाहाका ८ वटा वडाका ३ सय ७२ रोपनी जग्गाको तरकारीबाली नष्ट गरेको थाहा नगरपालिका कृषि शाखाका प्रमुख सन्जय तिवारीले बताए । उनका अनुसार सबैभन्दा बढी क्षति थाहा-३ नम्बर वडाका कृषकहरुको तरकारीबालीमा पुगेको छ ।
'बाढीपहिरोले ९८ रोपनी जग्गामा लगाएको काउली, भेडे खुर्सानी र अकबरे खुर्सानी नष्ट गरेको छ,' उनले भने ।