२०८१ जेठ ४, शुक्रबार    

हेटौंडा–८ को वडा कार्यालयमा लफडा, अध्यक्षको कुर्सी सडकमा फालियो

२०७८ चैत्र ४, शुक्रबार १४:०२ बजे

हेटौंडा–८ को वडा कार्यालयमा तोडफोड भएको छ ।

स्थानीय सेवाग्राहीले वडाअध्यक्ष गोपालबहादुर श्रेष्ठ कार्यालयमा नबसेको र सेवाग्राहीलाई पूर्णरुपमा वेवास्ता गरेको आरोप लगाउँदै स्थानीय युवाहरुले तोडफोड गरेका हुन् । उनीहरुले वडा अध्यक्षको कुर्सी सडकमा ल्याएर फालेका छन् । ‘स्थानीय युवाहरुले सेवामा पक्षपात भयो भनेर यसो गरेका रहेछन् । हामी बाँकी विषय बुझ्दै छौं ।’, इलाका प्रहरी कार्यालय पशुपति नगरका प्रहरी निरीक्षक अनिश अधिकारीले भने । उनका अनुसार प्रहरी टोली अहिले वडा कार्यालयमै रहेका छन् ।

स्थानीय युवाले अध्यक्षविरुद्ध आन्दोलन गरेसँगै एमाले निकट करिब २० जना युवा प्रतिवादमा उभिएका छन् । वडा अध्यक्ष एमालेबाट निर्वाचित हुन् । लामो समयदेखि उनले सेवा प्रवाहमा पार्टीकरण गरेको आरोप लगाएका छन् ।

पछिल्लो समय स्थानीय निकायको निर्वाचन नजिकिएसँगै श्रेष्ठ अध्यक्षमा पुन: दोहोर्‍याउन दाउमा छन् । उनी अहिले आफू निकटका कार्यकर्ताको निर्देशन अनुसार चलिरहेको आरोप छ ।